काठमाण्डौं – कम्युनिष्टहरुका लागि पूर्वकाे ‘लालकिल्ला’ ठानिने सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट नवनिर्वाचित मेयर तिलक राईले बुधबार कार्यभार सम्हालेका छन् ।
उनले कर्मचारीले खडा गरेका फाइलमा दस्तखत गरी औपचारिक रुपमा कार्यकक्षमा पुगेर कार्यभार शुरु गरेका हुन् । कार्यभार आरम्भ गर्नुअघि मेयर राईले धरान उपमहानगरपालिकाको वडा नंं. १६ मा रहेको गणेशमान सिंह वडा नं. १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए ।
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयर राईले निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको ‘लालकिल्ला’ भत्काएका थिए । यसअघि निर्वाचित नेकपाका मेयरको निधन भएपछि उपचुनाव भएको थियो ।
राई यसअघि दिवंगत नेकपाका मेयरसँग पराजय भएका थिए । यसपटक उनले आफूलाई जनताले पत्याएको प्रतिक्रिया दिँदै जनताको हित र अधिकारको पक्षमा बाहेक अन्य सोच्दैनसोच्ने बताए । भ्रष्टचार र माफियागिरीको अन्त्य, नागरिकलाई सर्वसुलभ र सहज सेवा दिने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।