एनसेललाई मेला नचलाउन बिप्लवको चेतावनी

0

काठमाण्डौं – राज्यलाई कर छली गरेको आरोप खेपिरहेको एनसेललाई मेला नचलाउन चेतावनी दिइएको छ ।

‘पर्यटन वर्ष सन् २०२०’ को अवसरमा पारेर एनसेलले ‘एनसेल मेला २०७६’ आयोजना गर्ने तयारी गरिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सो चेतावनी दिएको हो ।

पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर एनसेललाई भ्रष्ट र लुटेराको संज्ञाा दिँदै ‘एनसेल मेला २०७६’ आयोजना गरिए कडा कारवाही गर्न पार्टी बाध्य हुने चेतावनी दिएका छन् । कर छल्ने र भ्रष्टचार गरेकै कारण पार्टीले एनसेलमाथि निरन्तर कारवाही गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

जनताबाट रकम असुलेर राज्यलाई कर नतिरेको र नेता मात्र नभई न्यायिक निकायलाई समेत आर्थिक प्रभावमा पारिरहेको जनाउँदै पर्यटन वर्षको बहानामा जबर्जस्ती मेला संचालन गर्न पार्टीले छुट नदिने कुरा विज्ञप्तिमा प्रष्ट पारिएको छ । ‘एनसेल मेला २०७६’ आयोजनाको समाचारले जनता र पार्टीले आक्रोशित तुल्याएको जनाइएको छ ।

मेलाका लागि स्थान उप्लब्ध गराउन र मेलामा कलाकार लगायत व्यवथापकीय पक्षमा सहयोग नगर्न समेत सबैमा विज्ञप्तिमार्फत अपिल गरिएको छ । अर्बौं रुपैयाँ करछली गरेको आरोपमा विप्लव नेकपाले चार/पाँच वर्षदेखि एनसेलमाथि निरन्तर आक्रमण गर्दै आइरहेको छ । सबै कर चुक्ता नगरे एनसेललाई देशबाटै खारेज गर्ने उक्त पार्टीले पटकपटक चेतावनी दिँदै आएको छ ।

गत फागुन १० मा ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा गराएको बम विष्फोटमा परी लमजुङका सिहंप्रसाद गुरुङको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा चलाइएको मुद्दाको पुर्पक्षमा उक्त पार्टीका १० जना नेता कार्यकर्ता नख्खु कारागारमा बन्दी छन् ।

Leave A Reply

Your email address will not be published.