शान्तिपूर्ण रुपमा ५२ रिक्त पदका लागि मतदान सम्पन्न

0

काठमाण्डौं – उपनिर्वाचनका लागि शनिवार विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह गरी ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

केन्द्र र प्रदेशमा गरी ७० प्रतिशत भन्दा बढि मत खसेको प्रारम्भिक आकलन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन भएका केही जिल्लामा भने बम विस्फोटहरु भए । पोखरा, सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको थियो ।

पोखराको चार स्थानमा बम विस्फोट भयो भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएको छ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ भने बाँकी ४३ वडाध्यक्ष चयनका लागि पनि मतदान सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.