मेडिकल कलेज संचालकलाई २४ घण्टे अल्टिमेटम

0

काठमाण्डौं – सरकारले मेडिकल कलेजहरुलाई विद्यार्थीबाट अवैध रुपमा असुलेको रकम फिर्ता गर्न २४ घण्टे अल्मिेटम दिएको छ ।

फिर्ता गराउन सरकारले तेस्रोपटक हिजो आइतबारसम्मकाे दिएको समयसीमालाई पनि अटेर गरेपछि आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायत उपस्थित बैठक अवैध शुल्क फिर्ता गराउन मेडिकल कलेज संचालकरुलाई २४ घण्टे समयसीमा दिने निर्णय गरेको छ ।

यससँगै २४ घण्टाभित्र सरकारले तोकेको भन्दा बढी रकम असुलेको रकम मेडिकल कलेजहरुले विद्यार्थीलाई फिर्ता नगरे कारवाही गर्ने जनाएको छ । समयसीमा भोलिसम्मको हो । त्यसपछि पनि अटेर गर्ने कलेज संचालक पक्रउ पर्ने सुरक्षा स्रोतले जनाएको छ ।

सरकारले उपत्यकाबाहिर ३८ लाख ५० हजार उपत्यकाभित्र ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेकोमा अध्ययन तथा छानबिन समितिले यसबिचमा गरेको अध्ययनले जनही विद्यार्थीबाट ६ देखि २० लाख रुपैयाँसम्म बढी शुल्क असुलेको देखाएको थियो ।

देशभर १८ वटा मेडिकल कलेज संचालनमा छन् । त्यसमध्ये चितवन भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) लगायत ३ वटामा सम्पत्ति शुद्धिकरण विभागले छापा हानेर कागजपत्र नियन्त्रणमा लिइसकेको छ ।

सरकारले तोकेकोभन्दा लाखौं रुपैयाँ मेडिकल कलजेहरुले अवैधरुपमा असुलिरहेको भन्दै उक्त रकम फिर्ता हुनुपर्ने माग गर्दै विरोधमा चिकित्सा शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीहरु देशैभरका कलेजमा आन्दोलित छन् । २०७२ बाट कलेजले अवैध रुपमा आफूहरुसँग अवैध रुपमा शुल्क उठाउँदै आएको आन्लोलनरत विद्यार्थीहरुको तर्क छ ।

आन्दोलनको नेतृत्व ‘चिकित्सा शिक्षा संघर्ष समिति’ले गर्दै आएको छ । समितिले गत भदौ ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनलाई चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीका अभिभावकले समेत साथ दिएका छन् ।

वीरगञ्जकाे नेशनल मेडिकल कलेज, भैरहवाकाे युनिभर्सल मेडिकल कलेज, पाेखराकाे गण्डकी मेडिकल कलेज, चितवनकाे चितवन मेडिकल कलेज लगायतका संचालक अवैध शुल्क असुल्ने सूचीमा छन् ।

Leave A Reply

Your email address will not be published.