कांग्रेसले भन्यो: १२०० मेघावाटको बुढीगण्डकी निर्माणमा सरकारद्बारा राष्ट्रघात

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले १२०० मेघावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनमा गम्भीर राष्ट्रघात गरेको जनाएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर बुढीगण्डकी आयोजना आफैंले बनाउन भनी सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ प्रत्यक्ष रुपमा कर उठाएर आजका दिनमा विदेशी कम्पनीलाई ठेक्का दिन खाजेर राष्ट्रघात गरेको जनाएका छन् ।


स्वेदशकै लगानीमा आफैंले निर्माण गर्ने भनेर ४० अर्ब रुपैयाँ कर उठाइसकेपछि विदेशी कम्पनीलाई त्योपनि बिनाप्रतिस्पर्धा दिएको एक वर्षपछि अहिले कम्पनी भागेको भनेर हल्ला गर्नुले सरकार आर्थिक चलखेल गरेर राष्ट्रघात गर्न उद्यत रहेको प्रष्ट भएको प्रवक्ता शर्माको तर्क छ ।

उनले विज्ञप्तिमा बुढी गण्डकीको भविष्यमात्र नभई उपभोक्ताबाट उक्त आयोजना निर्माणका लागि गएको कार्तिक मसान्तसम्ममा उठाइसकिएको ४० अर्ब रुपैयाँ रकमको भविष्य के हुने ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।

‘हाम्रो प्रश्न छ, नेपाली आफैले बनाउन सक्ने ठहरका साथ अघि बढाउने संकल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गति अघि बढिसकेको स्थिति हुँदाहुँदै बुढी गण्डकीमा घात गरिनु राष्ट्रवाद कि राष्ट्रघात ? उठाइसकिएको र उठाउन जारी रहेकोे रकमको भविष्य के हुन्छ ?’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारले आयोजना अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा नेपाली आफैले निर्माण गर्न सकिने मार्ग प्रशस्त गरेको समेत स्मरण गराएका छन् ।

हेर्नुस्ः विज्ञप्ति

Leave A Reply

Your email address will not be published.