स्वास्थ्यबाट कानूनमा सरुवा हुँदा उपेन्द्र यादव झन् खुसी, सरकार नछाड्ने

0

काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीले उपप्रधानसहित स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रिपरिषद हेरफेरका क्रममा कानून मन्त्रालयमा सारे पनि यादवले मन्त्रिपरिषद नछाड्ने भएका छन् ।

स्वास्थ्यमन्त्रीका हैसियतमा एक कार्यक्रममा सहभागी हुन दिल्ली गएका यादव शुक्रबार स्वदेश फर्कंदा कानूनमन्त्रीका रुपमा फर्किए । यादव दिल्लीमै रहँदा काठमाण्डौंमा उनले सरकार छाड्ने चर्चा चलेको थियो । नेता बाबुराम भट्टराई र अशोक राई भट्टराईलाई जसरी पनि सरकारबाट बाहिर ल्याउने रणनीतिमा छन् ।

भट्टराई र राईले आफूहरुसँग परामर्श नै नगरी छापामार शैलीमा अपमानपूर्वक मन्त्रालय परिवर्तन गरिएको भन्दै यादवलाई सरकारबाहिर ल्याउने मौकाका रुपमा उपयोग गर्न खोजेका छन् । हालै सकिएको केन्द्रीय समिति बैठकमा भट्टराई पक्षले सरकार छाड्नुपर्ने आवाज जोडतोडले उठाएको थियो । तर, केन्द्रीय समितिमा सुविधाजनक बहुमतमा रहेका यादवले सरकार नछाड्ने निर्णय गराए । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश–२ का प्रदेशसभा सदस्य सञ्जय यादवले आफ्नो दलले सरकार नछाड्ने स्पष्ट गरे ।

उनले संविधान र संघीयता कार्यान्वयनका लागि कानून मन्त्रालय आफूहरुका लागि उपयुक्त जिम्मेवारी भएको तर्क गरे । ‘बाहिर जे चर्चा चलाइएको छ, त्यो होइन’, यादवले भने, ‘हामी संघीयता पक्षधर शक्ति हौं, संघीयता कार्यान्वयनका लागि स्वास्थ्यभन्दा कानूनको जिम्मेवारी हाम्रा लागि धेरै उपयुक्त छ ।’

उनले अध्यक्ष यादवसँग पनि आफूले कुराकानी गरेको र त्यस क्रममा सरकार नछाड्ने स्पष्ट गरेको सुनाए । उनले कानूनमा जिम्मेवारी परिवर्तनसँगै आफूहरुको मुल राजनीतिक एजेण्डा संविधान संशोधन सहज भएको बताए । ‘हामी संविधान संशोधनको एक मात्र कार्यभार लिएर वर्तमान सरकारमा सहभागी भएका हौं’, यादवले भने, ‘त्यसका लागि अहिलेको जिम्मेवारी सही छ ।’

Leave A Reply

Your email address will not be published.