काठमाण्डौं – गएको कार्तिक १४ मा पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजाना मुद्दाको पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
गोली लोड गरिएको अमेरिकन पेस्तोलसहित बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट राति ९ बजे कोहलपुर इलाका प्रहरील शाहलाई प्रहरीले पक्राउ गरेको थियो । शाहसँगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको थियो ।
पक्राउपछि अनुसन्धानका क्रममा शाहको गाडीबाट सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको गोली लोड गरेको उक्त पेस्तोल, म्याग्जिन र ९ राउण्ड गोली शाहकै भएको दाबीसहित प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बाँके अदालतमा गत शुक्रबार मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा सोमबार भएको बहसमा बाँके जिल्ला अदालतले शाहलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि कारागामा राख्न आदेश दिएको हो ।
तर शाहसँगै पक्राउ गरिएका तीन जनालाई भने अदालतले जनही एक लाख ५० हजार रुपैयाँ धरौटी लिई छाड्न आदेश दिएको छ । सरकारी वकिलको कार्यालयले भने चारै जनालाई पाँच वर्ष कैद सजायँको माग गरेको थियो ।
पक्राउ परेदेखि नै तरुण दलले शाहलगायतलाई सरकारले राजनीतिक प्रतिशोधमा झुठा मुद्दामा फसाउन खोजेको भन्दै निसर्त रिहा गर्न माग गर्दै बाँके जिल्ला समेत बन्द गरेको थियो ।
साथै तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले शाहलाई प्रहरी आफैंले पेस्तोल भिडाएर नियोजित रुपमा संगठनको लोकप्रियताप्रतिको इर्ष्याले बद्नाम गराउन झुठा मुद्दामा फसाउन खोजेको भन्दै पेस्तोलको फिंगर प्रिन्टको ल्याब जाँच गर्न माग गरेका थिए ।