गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा प्रस्ताव

0

काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीले सचिवायल सदस्यद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार ओलीले गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउन निकटका नेताहरू समक्ष प्रस्ताव राखेका हुन् । गौतम बर्दिया र श्रेष्ठ गोरखामा पराजित भएका थिए ।

उनीहरूलाई राष्ट्रिय सभामा ल्याउँदा सरकारका कामकारबाही र संसदमा पार्टीको भूमिका प्रभावकारी हुन सक्ने ओलीको बुझाइ रहेको एक नेताले बताए । तर, गौतम र श्रेष्ठले राष्ट्रिय सभामा आफूहरू जान ईच्छुक नरहेको बताउने गरेको नेकपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेको चर्चा छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेबारी दिने ओलीको तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि संवोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँको दूरी पनि घटाएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरिसकेपछि नेकपाभित्र ओलीको एक किसिमको जादु चलेको चर्चा छ ।

Leave A Reply

Your email address will not be published.