प्रधानमन्त्रीले कालापानीबाट भारतीय फाैज हटाउँछौं भनेकै दिन सीमा अतिक्रमणविरुद्धको प्रदर्शनमा प्रहरी दमन

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय फौज हटाइछाड्ने बताएका छन् । लामाे समय माैन बसेका प्रम अाेलीले अाइतबार भारतविरुद्ध मुख खाेलेका हुन् ।

देशको एक इञ्च पनि माटो मिच्न नदिने र अरुको नचाहिँने बताउँदै नेपाली भूमि कालापानीबाट आफ्नो फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले भारतसँग विशेष आग्रह गरेका छन् ।

आइतबार राजधानी काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग सो आग्रह गरेका हुन् । भारतले सीमाना पहिल्यैदेखि मिच्दै आएको र अहिले देशभित्र सीमा मिचाहविरुद्ध राष्ट्रिय एकता कायम भएकोले सीमा अतिक्रमण क्षेत्रबाट भारतीय सेना फिर्ता सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए । सीमा मिचेकाे बेलामा पनि प्रधानमन्त्री माैन बसेकाे भन्दै चैतर्फी अालाेचना भइरहेकाे बेला उनले माैनता ताेडेका छन् ।

साे क्रममा उनले कतिपयले नक्सा फेर्नुपर्ने भनेकाे तर त्याे तरिका सही नहुने बताउँदै ‘नक्सा फेरेर केही हुँदैन । मिचिएको भूमि फिर्ता गर्नुपर्छ’ बताएर मिचेकाे भूमि समेटेर नयाँ नक्सा सरकारले ननिकाल्ने संकेत उनले गरे । लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समटेर नयाँ नक्सा जारी गर्न संसदकाे राज्यव्यवस्था तथा सुशासन समितिले गत हप्ता सरकारलाई निर्देशन दिएकाे थियाे ।

यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत भारतीय सीमा क्षेत्रमा भारतले मिचेको विरोध दिनहुँ भइरहेको प्रदर्शनका क्रममा आइतबार भएको नेपाल विद्यार्थी संघको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको छ । यसबाट भने प्रधानमन्त्रीकोे भनाईलाई आशंका पैदा गराइदिएको छ । सीमा मिचाहविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि दमन र गिरफ्तारी गरिनुले यो शंका गरिन थालेका छन् ।

आइतबार कार्यालय समयमा नेविसंघले नेपालका लागि भारतीय राजदूतावास कार्यालय काठमाडौंको लैनचौंरमा विरोध जुलुससहित प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले दमन र गिरफ्तारी श्रृंखला चलाएको हो । नेविसंघ दुई हप्तादेखि आन्दोलित छ । अाइतबारकाे प्रदर्शनमा भएकाे प्रहरीकाे हस्तक्षेपकाे नेविसंघले विराेध गरेकाे छ ।

प्रदर्शनकारीले नेपाल र संगठनको झण्डा बोकेर भारत सरकारविरोधी नारा र नारा लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । दूतावास कार्यालयतर्फ बढ्दै गर्दा उनीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।

गिरफ्तार गरिएकाहरुलाई प्रहरीको पिक भ्यानमा राखेर लगेका छन् । विद्यार्थीहरुले अतिक्रमित नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपाली नक्सा प्रदर्शन गरेका थिए ।

भारत सरकारले कार्तिक १६ मा सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई समावेश गरेपछि भारतविरुद्ध देशभर विरोध प्रदर्शन जारी छ ।

Leave A Reply

Your email address will not be published.