काठमाण्डौं – सरकारले तोकेभन्दा अवैध शीर्षकमा असुलेको शुल्क फिर्ता गराउन दबाबस्वरुप विद्यार्थीले युनिभर्सल कलेज गेटमा रिले अनसन शुरु गरेका छन् ।
कलेजमा एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरुले ६ बुँदे माग राखेर युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका हुन् ।
अवैध शुल्क फिर्ता वा समायोजन गर्न सरकारले पटपकटक निर्देशन दिँदासमेत कलेजले अटेर गरेपछि आफूहरुले बाध्य भएर कलेजमा तालाबन्दी र अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरेको आन्दोरत विद्यार्थीहरुले बताएका छन् ।
‘न्यायका लागि संघर्ष’ लिखित ब्यानर कलेजको मुख्य गेटमा टाँगेर उनीहरु अप्रोनसहित रिले अनसन बसेका छन् । विद्यार्थीले चार दिनपहिल्यै कलेजको प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरिसकेका छन् ।
युनिभर्सल मेडिकल कलेजले हरेक विद्यार्थीसँग १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको भनाई छ ।
त्यस्तै चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा पनि एमबीबीएसका विद्यार्थीहरुले अवैध शुल्क फिर्ताको माग गर्दै तालाबन्दीसहित आन्दोलन जारी राखेका छन् । उनीहरुले सीएमसीले प्रत्येक विद्यार्थीबाट ६ देखि २० लाख रुपैयाँ अवैध शीर्षकमा शुल्क असुलेर ठगी गरेको बताएका छन् ।
गत भदौ ५ गतेदेखि देशैभरका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा संघर्ष अभियान चलाउँदै चिकित्सा शिक्षालाई माफियाको हातबाट मुक्त गर्नुपर्ने, सर्वसुलभ बनाउनुपर्ने, सर्वसाधारणको पहुँचमा चिकित्सा शिक्षालाई पुर्याउनुपर्ने माग गर्दै आइरहेका छन् । संघर्ष अभियानको नेतृत्व अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव प्रकाश चन्दे गरिरहेका छन् ।
उता बाराको वीरगन्जमा संचालित सत्तारुढ नेकपाका कार्यकर्ता बसरुद्दिन अन्सारीको नेशनल मेडिकल कलेज प्रशासनले अवैध शुल्क फिर्ताको माग गरेका कलेजका विद्यार्थीहरुमाथि गुण्डा लगाएर कुटपिट समेत गरेका छन् । त्यहाँका विद्यार्र्थीहरु आन्दोलित छन् ।
अभियान देशैभर फैलिएको छ । कतिपय जिल्लामा संघर्षपछि जिल्ला प्रशासन, कलेज र आन्दोलनरत विद्यार्थीहरुबीच अवैध शुल्कबारे अध्ययन प्रतिवेदन तयार पार्ने र अवैध शुल्क फिर्ता गर्ने सहमति हुँदै आइरहेको छ । तर कलेज शुल्क अवैध शीर्षकमा उठाएको स्वीकार गरेपनि फिर्ता गर्न भने सरकार, चिकित्सा शिक्षा आयोगले दिर्नेशनलाई उल्लंघन गर्दै आइरहेको छ । सरकारले अवैध शुल्कबारे कलेजविरुद्ध उजुरी दिन समेत बाटो खुला गरेको छ ।
सरकारले काठमाण्डौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने रकम सीमा तोकेको छ । तर कलेज प्रशासनले भने ६५ लाख रुपैयाँसम्म असुलेको भेटिएको छ ।