`नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ´ : बाबुराम भट्टराई

0

काठमाण्डौं – समाजवादी पार्टी नेपालको पहिलो संघिय परिषद बैठकमा पार्टिका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २५ पृष्ठ लामो राजनैतिक प्रतिवेदन पेश गर्दै सत्तारुढ नेकपा भविष्यमा फेरि उठ्नै नसक्ने गरि पतनको दिशामा अभिमुख रहेको टिप्पणी गरेका छन् ।

सत्तारुढ नेकपा आउँदा केही बर्ष वा दशकभित्र भविष्यमा कहिल्यै उठन नसक्ने गरि पतन हुने उनको ठोकुवा छ । ` समाजवादी पार्टी निर्माण र आगामी कार्यभार ´ शिर्षकको प्रतिवेदनमा समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने दावी समेत गरेका छन् । अरु राजनैतिक दलबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया यस्तो छ:

कांग्रेस ‘नालायक’

बाबुरामले कांग्रेसलाई नालायक दलको संज्ञा दिएका छन् । दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि व्यवहार र एजेण्डाले समाजवादी दल नभएको उनको टिप्पणी छ । ‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ’, बाबुरामले लेखेका छन्, ‘प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थाङथिलो भएको छ ।’ उनले कांग्रेसको देशभर फैलिएको संगठन र परम्परागत जनमत रहेको स्वीकार भने गरेका छन् । उनले वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र साम्यवादीलाई भोट दिन नचाहने जनमतले कांग्रेसलाई भोट दिँदै आएको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नुपर्दछ’, बाबुरामले लेखेका छन् । 

राजपा : एजेण्डा मिल्ने


बाबुरामले राष्ट्रिय जनता पार्टीसँग पहिचान र अधिकारको पक्षमा धेरै एजेण्डा मिल्ने भएकाले एकता प्रयासलाई छिटो निष्कर्षमा पुर्‍याउने उल्लेख गरेका छन् । ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन्’, बाबुरामले भनेका छन्, ‘यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई छिटो तार्किक निष्कर्षमा पुर्‍याउने  प्रयत्न गर्नु पर्दछ ।’ 

सँगै बाबुरामले जनमुक्ति, लिम्बुवान र थारुहट जस्ता पार्टीसँग एजेण्डा मिल्ने बताएका छन् ।  उनले ११ प्रदेशको सवालमा यी पार्टीसँग सहकार्य हुन सक्ने उल्लेख गरेका छन् । 

गलत बाटोमा ‘विप्लव’, वैद्य‘साम्यवादी’ 

बाबुरामले मसाल, नेकपा (वैद्य) नेकपा (विप्लव), नेमकिपा र मालेलगायत दल साम्यवादको धङधङीबाट ग्रस्त भएको आरोप लगाएका छन् ।  ‘यी दलहरु यात शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् यात सत्तारुढ नेकपाकै उपग्रही विचार बोक्दछन्’, बाबुरामले भनेका छन्, ‘विप्लवले सशस्त्र सघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरिरहेका छन् ।’ 

साझा र विवेकशील ‘विचारविहीन’

बाबुरामले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिक चिन्ता गर्ने साझा र विवेकशील नेपाली दललाई धैर्यतापूर्वक बुझ्न पर्खनु पर्ने उल्लेख गरेका छन् । उनले यी दलको विचार र एजेन्डा के हो भन्ने प्रष्ट नभएको उल्लेख गरेका छन् । ‘यी दलको विचार के हो र कस्ता एजेण्डा बोक्ने हुन् त्यो प्रष्ट छैन’, बाबुरामले लेखेका छन्, ‘केही नयाँ गरौं भन्ने हुटहुटीले यी दल बनेका हुन सक्छन् । यिनीहरुलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नु पर्दछ ।’

Leave A Reply

Your email address will not be published.