जनकपुरधाम – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधहरुले गाउँपालिका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिका कार्यालयबाट पटकपटक नियमविपरीत कामकारवाही भइरहेपछि त्यसलाई रोक्न माग गर्दै वडाका अध्यक्ष, सदस्यलगायत दर्जनौं संख्याका स्थानीयले कार्यकक्षमै पुगेर अध्यष साहलाई बिहिबार कार्यालय समयमा ज्ञापन पत्र बुझाएका हुन् ।
गाउँ पालिकाबाट छुटटयाइएको रकम कटौती, वडास्तरबाट निर्णय गरी पठाइएको विकास योजना हटाउने, बजेट बाँडफाँडमा भेदभाव लगायत रवैयामा अध्यक्ष साह र उपाध्यक्ष आशादेवी यादवले मनपरी गरेको भन्दै आक्रोशित वडाध्यक्ष र सदस्यहरुले विरोधस्वरुप ज्ञापनपत्र बुझाएको ज्ञापनपत्र बुझाउन गएका वडा नम्बर ५ का अध्यक्षा देवकुमारको भनाई उदृत गर्दै हाम्रा संवाददाताले जनाएका छन् ।

वडा नं. ४ का वडाध्यक्ष विद्यानन्द साह, ५ का वडाध्यक्ष यादव र ६ का वडा अध्यक्ष राजेश्वर साह सुडीको नेतृत्वमा अध्यक्ष साहलाई ज्ञापनपत्र बुझाइएको छ । अध्यक्ष साहले ज्ञापनपत्र बुझेका छन् । १६ बुँदामा ज्ञापनपत्र लेखिएको छ ।
ज्ञापनपत्र बुझदै साहले गाउँसभाको बैठक बोलाएर कार्ययोजना बनाई कार्य संचालन गर्ने र त्यसमा सहयोग गर्न वडाध्यक्षहरुसँग आग्रह गरे । लक्ष्मीपुर पतारी गाउँपालिका पर्यटकीय क्षेत्रमा घोषित भइसकेको छ । तैपनि अध्यक्ष साहले ध्यान नदिएपछि स्थानीय समेत आक्रोशित छन् ।

‘अब बैठकपछि बजेट छनौट गर्छौं, तपाईहरु कुनै ठोस योजनाहरु लिएर आउनुस् त्यसैमा बजेट विनियोजन गर्न तयार छ’ ज्ञापनपत्र बुझेर भने । माग पूरा नभए जनताको साथ लिएर कार्यालयमै तालाबन्दी गर्ने चेतावनी दिइएको छ । त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवारी अध्यक्ष र उपाध्यक्षले लिनुपर्ने ६ नम्बरका वडाध्यक्ष सुडीले बताए ।
तस्बीर: महेश सिंह