काठमाण्डौं – ‘वाटर क्यानोन’ नाम दिइएको ५५ मिटर टाढासम्म पानीको फोहरा हान्न सक्ने ट्यांकर (क्यान) प्रहरीका लागि ल्याइएको छ ।
नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को परीक्षण बिहिबार प्रहरी प्रधान कार्यालयमा गरिएको छ । मुख्यालयपभित्र रहेको खेल मैदानमा गरिएको परीक्षण सफल भएको प्रहरीले जनाएको छ । ट्यांकरको परीक्षण र प्रदर्शनको अवलोकन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गरे ।
‘वाटर क्यानोन’मा सेल्फ स्प्रे हुने सिस्टम जडित छ । ट्यांकर लामो र छोटो दुरीमा फोहरा हान्ने सकिने किसिमका छन् । अपर क्यानले ५५ मिटर र लोअर क्यानले ३० मिटर दुरीसम्म पानीको फोहरा हान्ने सकिने क्षमताको रहेको प्रहरीले जनाएको छ ।

क्यानमा आवश्यकता अनुसार रंगीन पानी भरेर प्रयोग गर्न सकिनेछ । नयाँ खरिदसँगै प्रहरीसँग अब ६ वटा ट्यांकर (क्यान) संख्या पुगेको जनाएको छ ।

तस्बीर: नेपाल प्रहरी