काठमाण्डौं – भारतले अतिक्रमण गरी कब्जा गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तालगायत फिर्ता गराउन ‘विश्वव्यापी हस्ताक्षर अभियन’ शुरु गरेका छन् ।
मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत राष्ट्रका लागि युवाले अभियान शुरु गरेका हुन् । अभियान उद्घाटनमा बहिर्गमित पूर्वजनमुक्ति सेना ईन्चार्ज लेनिन विष्ट, चिकित्सक निकोशल भुसाल, प्रा.डा. विष्णु पाठक, उद्यमी उर्मिला डंगोल, सामाजिक अभियन्ता आशिका तामाङ, पिके शेर्पा, विक्रम जीसी, रुपक अधिकारीलागतयले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर विश्वव्यापी रुपमा गरिने र विश्वभर रहेका नेपालीहरुले अभियानमा भाग लिन सकिने बताएका छन् । संकलित हस्ताक्षर नेपालको सीमा रक्षाका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय निकायसम्म पुर्याउने जनाइएको छ ।
‘लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, देश बचाउने जिम्मेवारी हाम्रै हो’ नारा दिइएको अभियानमा मंगलबारै व्यापक रुपमा हस्ताक्षर संकलन भएको छ । तथाकथित नक्सा सच्याउन भारतीय प्रधानमन्त्रीसँग वक्ताहरुले हिन्दी भाषामै आग्रह गरे ।
त्यस्तै विश्वव्यापी रुपमा नेपालीको हस्ताक्षर संकलन गर्न फेसबुकबाटै डिजिटल सिग्नेचरको शुरुवात गरिने तयारी भइरहेको जनाइएको छ ।
आफ्नो मातृभूमि बचाउन अभियानमा सबैले साथ दिन पत्रकार सम्मेलनमा वक्ताहरुले आग्रह गरे । नेपालको सूदूरपश्चिमको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्रलाई भारतले हालै आफ्नो नक्सामा समेटेपछि नेपालमा भारतपिरोधी आन्दोलन चर्किरहेको छ ।