काठमाण्डौं – रौतहटको इशनाथ नगरपालिका–४ को मठिया प्रहरी चौकीमा अज्ञात समूहले बम प्रहार गरेको छ ।
मंगलबार दिउँसो पौने १ बजेतिर अज्ञात समूहले चौकीमा बम प्रहार गरेको हो । सुतली बम प्रहर भएको र बिस्फोटबाट एक प्रहरी जवान घाइते रहेको कार्कीले बताए ।
बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार बिआर ०५ एच ६५०९ मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत सीतामढी जिल्लाको ढाका घर बताउने २५ वर्षीय चन्दनकुमार रहेको बताएका छन् । भाग्दै गरेको अवस्थामा दसगजाबाट नियन्त्रणमा लिइएको हो ।
अर्का एक जना भने फरार भएको बताए । पक्राउ परेकासँग प्रहरीले बम बिस्फोट गराएको घटनाबारे सोधपुछ गरिरहेको छ ।
‘कुख्यात हत्यारा’को रुपमा परिचित रौतहट राजपुरका सांसद मोहम्मद अफताव आलम दुई दर्जन मानिसलाई बाह्र वर्षअघि जिउँदै इट्टाभट्टामा जलाएको अभियोगमा रौतहट प्रहरीको हिरासतमा छन् ।
उनको पक्षमा रौतहटमा दिनहुँजसो प्रदर्शन हुँदै आएका छन् । आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनमाथि लागेको अभियोगमा मंगलबार पनि रौतहट जिल्ला अदालतमा बहस जारी छ । बहस चलिरहेकै बेला जिल्लाभित्रकाे प्रहरी चौकीमा बम प्रहार भएको छ ।
बम प्रहार भएको नगरपालिका इशनाथ र आलमको राजपुर नगरपालिका सीमा जोडिएको नगरपालिका हो ।