बंगलादेशी राष्ट्रपतिको भ्रमणले मन्त्री हेरफेर रोकियो, चार मन्त्री बिदा हुने निश्चित

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । यसनिम्ति उनले आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दुई दिनदेखि घनिभूत छलफल चलाएका छन् ।

मन्त्री हेरफेर गर्ने विषयमा प्रचण्ड सहमत भएका स्रोतले बतायो । सोही अनुरुप प्रचण्ड र ओलीबीच तत्कालीन एमाले र माओवादी केन्द्रको पक्षमा मन्त्री बनाइनेहरुको नामावलीबारे छलफल समेत चलाइएको छ ।

भारतले नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा गाभेर नक्सा बाहिर ल्याएपछि ओली सरकार राष्ट्रियताको विषयले तनावमा परेको छ । देशको माटोको रक्षा गर्न सरकारको खोक्रो राष्ट्रवादले काम नगरेको भन्दै नागरिक तहबाटै आलोचनाको केन्द्रमा सरकार परेको छ ।

यस्तै अवस्थाबीच मंगलबारबाट बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा छन् । भ्रमणलाई सफलीभूत बनाउनु पर्ने दायित्व सरकारलाई छ । यहीबीच मन्त्री हेरफेर गरिहाल्दा राम्रो सन्देश नजाने भएपछि प्रधानमन्त्री ओली हमिदको भ्रमण सकेलगत्तै मन्त्री फेरबदल गर्ने तयारीमा लागेका छन् । राष्ट्रपति हमिदको भ्रमण चार दिनको रहेको छ । यसपटकको हेरफेरमा प्रचण्ड पक्षका खानेपानी मन्त्री बिना मगर र वन मन्त्री शक्ति बस्नेत तथा ओली पक्षका संचारमन्त्री गोकुल बास्कोटा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हट्ने निश्चित भएको स्रोतले बतायो ।

राष्ट्रप्रमुख देशको भ्रमण रहेका बेला परराष्ट्र मन्त्रीलाई हटाउँदा गलत सन्देश जाने भन्दै तत्कालका लागि हेरफेर रोकिएको हो । यसअघि पनि हेरफेरको विषयमा छलफल नभएको होइन । त्योबेला अध्यक्षद्वय ओली र प्रचण्डबीच उल्लेखित चार मन्त्री हटाउने विषयमा सहमति कायम हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठनको विषयले चर्चा मात्र पाउँदै आएको दाबी स्रोतले गर्यो ।

नेपाल भ्रमणमा आएका हमिदलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियाे । भ्रमणमा नेपाल–बंगलादेशबीच विद्युतीय उर्जामा महत्वपूर्ण सम्झौता हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.