बाग्लुङमा ‘बागी उम्मेद्वार’ उम्मेद्वारी फिर्ता गराउन हेलिकोप्टर चढाइयो

0

काठमाण्डौं – बाग्लुङको क्षेत्र नं. २ को प्रदेशसभा तर्फ ‘ख’मा मंसर १४ मा हुन गइरहेको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाकै स्थानीय नेता शेरमान घर्तीलाई जिल्ला पार्टीका नेताकार्यकर्ताहरुले कब्जामा लिई उम्मेद्वार फिर्ता लिन दबाब दिइरहेको बताएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन तालिका अनुसार कार्तिक २१ मा बाग्लुङ – २ को ‘ख’ मा उम्मेद्वारी दर्ता भएको थियो । सो मितिमा शेरमान घर्तीले नेकपाको तर्फबाट भन्दै उम्मेद्वारी दर्ता गरेका थिए । त्यसपछि नेकपा बाग्लुङ पार्टीमा विवाद परेको छ ।

त्यस्तै कार्तिक २३ मा उम्मेद्वारी विरुद्ध उजुर र जाँचबुझ, २४ गते आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेद्वारी फिर्ताको समयसीमा तोकिएको छ । सो दिन आजै परेकोले शेरमान घर्तीलाई उम्मेद्वारी फिर्ता लिन पार्टीकै कार्यकर्ताहरुले बिहानैदेखि कब्जामा राखी उम्मेद्वारी फिर्ता लिन लगाउन निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टर चढाएर पुर्याइँदै गरिएको स्रोतले बतायो ।

प्रदेश सभाको यो क्षेत्रबाट निर्वाचित जनमोर्चाका उम्मेद्वार टेकबहादुर घर्तीको निधन भएपछि भएको सो प्रदेशसभा क्षेत्र खाली रहेको थियो । सोही क्षेत्रमा उपचुनाव हुँदैछ । उपचुनावमा सत्तारुढ नेकपाले आधिकारिक रुपमा योपटक जनमोर्चाका उम्मेद्वार खिमविक्रम शाहीलाई समर्थन गरी साझा उम्मेद्वार उठाएका छन् । तर असन्तुष्ट जनाउँदै यसअघि स्थानीय तहको निर्वाचनमा नेकपाकै ढोरपाटन नगरपालिकामा मेयरमा उठेर पराजित भएका घर्तीले छुट्टै उम्मेद्वार दर्ता गरेपनि फिर्ता लिन पार्टीबाट चर्को दबाद दिइँदै आएको छ ।

यसअघिको प्रदेश र प्रतिनिधि सभाको चुनावका बेला रामेछापमा प्रतिनिधिसभाको लागि पार्टीको आधिकारिक उम्मेद्वार तत्कालीन माओवादी केन्द्रको तर्फबाट श्यामकुमार श्रेष्ठ ‘कुशल’सँगै नेकपाकै सोही पार्टीका जिल्ला संयोजक मैनकुमार मोक्तान ‘दमन’ले छुट्टै उम्मेदव्वार दर्ता गराएपछि विवाद चुलिएको थियो ।

विवाद चुलिँदै जाने क्रममा पार्टीबाट केन्द्रदेखि प्रदेश र जिल्ला तहका नेताकार्यकर्ताले कब्जा लिई सेनाको हेलिकोप्टर भाडामा लिई रामेछाप सदरमुकाम मन्थलीमा पुर्याई जबर्जस्ती रुपमा उम्मेद्वार फिर्ता लिन लगाइएको थियो । त्यसबेला गृहराज्यमन्त्री समेत रहेका कुशल स्वयम् हेलिकोप्टरमा मदन चढाएर सँगै मन्थली पुगेका थिए ।

उक्त घटना उपचुनावका क्रममा बाग्लुङमा भएको छ । घर्तीलाई बाग्लुङमा सत्तारुढ नेकपाले भने बागी उम्मेद्वार भनेको छ । उम्मेद्वार फिर्ता नलिए कारवाही गर्ने चेतावनी पार्टीले घर्तीलाई दिइरहेको छ । तर घर्ती भने आफ्नो उम्मेद्वार फिर्ता नलिने अडानमा कायम रहेको उनीनिकटहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.