कालापानीका लागि विद्यार्थीले भारतको विरोध गर्नु गलत हो : सत्तारुढ नेकपाकै नेता

0

काठमाण्डौं – सत्तारुढ (नेकपा)का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले पार्टी निकट विद्यार्थी संगठनले भारतको विरुद्ध गरिरहेको प्रदर्शन गलत भएको बताएका छन् । माओवादी विद्रोहको पृष्ठभुमीबाट उदाएका नेता भट्टले बिहिबार बेलुकी एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा पार्टीकै विद्यार्थी संगठन अनेरास्ववियुलाई गलत भनेका हुन् ।

भारतले जारी गरेको नक्सामा नेपालको कालापानी लगायत भूभाग समेटेको विरोधमा अहिले सत्तारुढ पार्टीनिकट विद्यार्थी संगठनले भारतको विरोध गरिरहेको छ । कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने भन्दै नेकपा नेता भट्टले ईतिहासमा भएका कमजोरीको समीक्षा गर्नुपर्ने तर्क राखेका छन् ।

भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राखेको र सोही बेला नेपालले पनि त्यहाँ आफ्नो सेना राख्नुपर्ने, तर यसो नगर्दा समस्या परेको भट्टले बताएका छन् ।

भारतसँग सिमा विवाद निकै लामो समयदेखि यथावत रहेको, तर आफु नै सरकारमा सहभागी भएका बेला पनि यसबारे कुनै काम नगरेको भट्टले जानकारी दिए । साथै, कालापानीमा खुकुरी लिएर जानु पनि आफुहरुको कमजोरी रहेको र जनताको सेन्टीमेन्ट लिनका लागि मात्रै यसो गरिएको भट्टले बताएका छन् ।

भारतसँग द्विपक्षीय वार्ता गर्नुको साटो आफुहरुले देखावटी देशभक्तिको काम गरेको र सन् २०१४ मै लिपुलेकलाई भारत र चीनको सिमाका रुपमा राखेको पनि भट्टले खुलासा गरे । कुटनीतिक तवरले समस्याको समाधान गर्नुको साटो विद्यार्थी संगठन सडकमा आउनु गलत भएको भन्दै भट्टले कालापानी र लिपुलेकबारे नेपाल सरकारले निकालेको विज्ञप्ति झारा टारेको जस्तो देखिएको तथा भारतले दिएको स्पष्टोक्ति पनि स्पष्ट नभएको भट्टको भनाई छ ।

भारतको विरोध गर्न आफ्नो पार्टीले विद्यार्थीहरुलाई सडकमा नपठाएको समेत भट्टले जिकिर गरे । विद्यार्थीहरुलाई सडकमा आउनको लागि सरकारले निर्देशन नदिएको, तर सडकमा ओर्लिहाल्ने पहिलेको स्कुलिङका कारण विद्यार्थीहरु सडकमा पुगेको उनले बताए । नेपाल र भारतबीचको समस्या सडकबाट हल नहुने हुनाले यसका लागि नेतृत्वलाई दबाब दिनुपर्ने, तर सडककमा जान नहुने तर्क भट्टले राखे ।

Leave A Reply

Your email address will not be published.