पूर्वप्रमुख अल–बग्दादीकी दिदी टर्कीद्वारा ’पक्राउ’

0

बीबीसी – इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको छ । सो कुराको पुष्टि टर्कीले गरेको छ ।

अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल(बग्दादी मारिएका थिए । उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल–बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन् ।

उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ । टर्कीका एक अधिकारीले अवादलाई ’सूचनाको खानी’ भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन् ।

पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन् । तर अवादसँग अल(बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ । टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमाफत पुष्टि गरेका छन् उनले लेखेका छन् ‘दर्शन र तिनीहरूको उत्पत्तिको वास्ता नगरी आतङ्कवादविरुद्ध टर्कीको लडाइँ अक्षुण्ण रहनेछ । अल–बग्दादीकी दिदीको गिरफ्तारी हाम्रो प्रतिआतंकवादको कारबाहीमा अर्को एउटा सफलताको उदाहरण हो ।’

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल–बग्दादीकी दिदीको गिरफ्तारीले ‘आईएसका आन्तरिक गतिविधि’बारे थाहा पाउन सघाउन सक्छ । अल–बग्दादीकी दिदीबारे त्यति धेरै जानकारी छैन र पक्राउ गरिएकी महिलाबारे बीबीसीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल–बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भएपनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन ।

Leave A Reply

Your email address will not be published.