गृहमन्त्रीको उपस्थितिमा सुरक्षा गोष्ठी, नजिकै विप्लव नेकपाको रंगिन पोष्टर

0

काठमाण्डौं – सोमबारदेखि बुटवलमा जारी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापा ‘बादल’ले देशमा शान्ति सुरक्षा सुदृढ हुँदै गएको दाबी मंगलबार बिहान गरिरहेका बेला बजारमा भने विप्लव नेकपाको व्यवस्थाविरोधी पोष्टर छ्याप्छ्याप्ती भेटिएको अवस्था रहेको थियो ।

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध घोषणा गरिसकेको अवस्था छ । महासचिव विप्लवका रंगिन तस्बीर राखिएको ठूला रातो अक्षरमा ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ लिखित भ्रष्टचारीलाई कारवाही गर, युवालाई देशभित्रै रोजगारको व्यवस्था गर, एनसेलसँग कर तुरुन्त असुल गर, वैदेशिक हस्तक्षेप बन्द गर, संसदीय व्यवस्था खारेज गरौं, वैज्ञानिक समाजवाद स्थापनामा अघि बढौं’ जस्ता नारा लेखिएको पोष्टर मिलनचोक लगायत बजारमा पर्खामा टाँसिएको अवस्थामा फेला परेको थियो ।

असोज ३० मा दाङको राजापुरबाट गिरफ्तार २१ लगायत देशैभरबाट बन्दी बनाइएका नेता कार्यकर्ताको रिहाई र जनताको गाँस, वास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्न मागसहित नारा लेखिएको रंगिन पोष्टर दाङ जिल्ला लगायत राप्तीका जिल्लाहरुमा पार्टीनिकट युवा संगठन नेपालकाे मध्यपश्चिम कमाण्डले व्यापक बनाएको छ ।

गृहमन्त्री बादलले विप्लव नेकपातर्फ संकेत गर्दै शान्ति सुरक्षामा चुनौति नरहेको र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु गर्ने तत्वहरु समाप्त भइसकेका गोष्ठीमा बताएका थिए । प्रदेश प्रहरी गठनको प्रक्रिया शुरु छिट्टै हुने पनि उनले सो क्रममा बताए । साथै चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण देश विकासका लागि कोशेढुंगा सावित हुने जिकिर उनले गरेका थिए ।

मंसिर १४ मा हुन गइरहेको स्थानीय, प्रदेश र केन्द्रको उपचुनाव नजिकिँदै गर्दा मन्त्री बादल देशैभर गोष्ठीमा व्यस्त छन् । गोष्ठीमा मन्त्री थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, यस क्षेत्रका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको छ । गोष्ठी जारी क्षेत्र बुटवल प्रदेश नं. ५ मा पर्छ । जसको नाम र राजधानी टुंगो लाग्न बाँकी छ ।

Leave A Reply

Your email address will not be published.