अन्ततः बलात्कार प्रयासका आरोपी महरा जेल चलान

0

काठमाण्डौं – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते राति डेरामै गई बलात्कार प्रयास गरेको अभियोगमा दर्ता भएको ‘जबर्जस्ती करिणी उद्योग’को मुद्दामाथि आइतबार र सोमबारको बहस सकेपछि काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा पुर्पक्षका लागि जेल चलान गरेको छ ।

शाहीको उजुरीका आधारमा असोज १९ गते महरालाई बालुवाटारबाट पक्राउ गरी हिरासतमा राखिएको थियो ।


शाहीले महराले राति आफू एक्लै भएको समयमा आएर बलात्कार प्रयास गरेको भन्दै कोठाबाट बाहिरिएलगत्तै राति नै प्रहरीको हन्ड्रेड फ्रिकलमा समेत फोन गरेकी थिइन् ।

त्यसको भोलिपल्टै संचारमाध्यमहरुमा समेत उनले महराले बलात्कार प्रयास गरेको र प्रतिवाद गर्दा कुटपिट गरी घाइते बनाएको बताएकी थिइन् । तर पछि शाहीले महरा आफ्ना ‘बाबु सरह’का भएको बताउँदै उनी कोठामै नआएको भनेर ढाँटेकी थिइन् ।

महराले आफूलाई बलात्कार प्रयास गरेको कुरा निराधार भएको भनी अदालतमै निवेदन समेत दिन पुगेकी थिइन् शाही । सोबारे आफ्नो मत राख्न खोज्दा अदालतले शाहीलाई बहसका क्रममा बोल्न समेत नदिएको समाचार बाहिरिएको थियो ।

चौतर्फी महरालाई बचाउन खोजिएपनि न्यायालयले भने उनलाई मुद्दाको अन्तिम किनारा नलागिञ्जेसम्मका लागि पूर्पक्षमा जेल पठाएको हो । मुद्दाको अन्तिम फैसला नभएसम्म महारा जेल बस्नेछन् । उनलाई डिल्लीबजारस्थित सदरखाेर कारागार पठाइएकाेा छ ।

Leave A Reply

Your email address will not be published.