कामोत्तेजना बढ्ने अन्धविश्वासले भालुको लिङ्ग काटेर खाने कुख्यात सिकारी पक्राउ

0

बीबीसी – भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ । ती सिकारीलाई यार्नेन नामले चिनिन्छ ।

धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्ताङ्ग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरू चनाखो भएका थिए ।

यार्नेन एउटा फिरन्ते आदिवासी समुदायका हुन् । उनको समुदायमा भालुको लिङ्ग सेवन गर्दा कामोत्तेजना बढ्ने अन्धविश्वास भएको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताए ।

यार्नेन अक्टोबर १९ मा गुजरात राज्यमा पक्राउ परेका हुन्। उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति भएको बताइन्छ ।

प्रहरीबाट जोगिन उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेको बताइन्छ । तर प्रहरीले उनीमाथि कुनै अभियोग लगाइसकेको छैन । आफू लागेका आरोपबारे उनले र उनका वकिलले कुनै प्रतिक्रिया दिएका छैनन् । उनलाई बुधवार अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन् ।

‘उनको खोजी र पक्राउका लागि हामीले एउटा विशेष एकाइ नै बनाएका थियौँ । छ वर्षसम्म चलेको यो हाम्रो निकै लामो खोजी थियो,’ वन विभागको विशेष कार्यदलको नेतृत्व गर्ने रितेश सिरोठियाले भने ।

मध्यप्रदेशको दक्षिणी भागमा पाइने पर्धी – बेहलिया जाति परम्परागत रूपमा जङ्गलमा बस्छ । उक्त जातिका मानिसहरू जीवनयापनको लागि सिकार गर्छन्। यार्लेन सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए । त्यतिखेर प्रहरीले लिङ्ग र पित्तको थैली निकालिएका दुईवटा भालुका शव फेला पारेका थिए ।

जेलमा एक वर्ष बिताएर जमानतमा रिहा भएपछि उनी फरार भएको प्रहरीको भनाइ छ । भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ । भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ ।

भालुको पित्त गैरकानुनी रूपमा गोप्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने र महँगो मूल्यमा बिक्री हुने बताइन्छ ।

Leave A Reply

Your email address will not be published.