ठूलो संख्यामा साउदी सैनिक हूथी विद्रोहीको कब्जामा

0

बीबीसी – यमनका हूथी विद्रोहीहरूले ठूलो संख्यामा साउदी सैनिकहरूलाई कब्जामा लिइएको दाबी गरेका छन् ।


हूथी समूहका एक प्रवक्ताले साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानबाट कब्जामा लिएको र कब्जामा परेका सैनिकहरुले आत्मसमर्पण गरेको बताएका छन् ।


उनका अनुसार हजारौँ साउदी सैनिकलाई नियन्त्रणमा लिइएको छ भने धेरैको मृत्यु भएको छ । साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।


यमनमा संघर्ष सुरु भएपछि साउदी सेनाविरुद्ध गरिएका सैन्य कारबाहीमध्ये नज्रानको घटना सबैभन्दा ठूलो भएको ती प्रवक्ताले बताए ।

कर्नेल याहिया सारियाका अनुसार साउदी फौजले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको छ । नियन्त्रणमा लिइएका सबैलाई हूथी विद्रोहीले सञ्चालन गरेको एउटा टेलिभिजनमा आइतवार देखाइने उनले बताए । गत सेप्टेम्बर १४ मा साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आफूले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हूथी विद्रोहीहरूले दाबी गरेका छन् । उनीहरूलाई इरानको समर्थन छ ।

तर उक्त आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गर्दै आइरहेको छ । अमेरिकाको स्वरमा स्वर मिलाउनेमा युरोपियन मुलुकहरु पनि थपिएका छन् । तर इरानले आफू ती घटनामा संलग्न नभएको बताएको छ । साउदी तेल केन्द्रहरूमा आक्रमण भएपछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको थियो । त्यसबाट विश्वभरि तेलको मूल्य प्रभावित भएको थियो । अमेरिका, यूके, फ्रान्स र जर्मनीको समर्थन पाएको साउदी अरबले ती आक्रमणहरू इरानले गराएको आरोप लगाएको छ ।

सन् २०१५ देखि यमनमा गृहयुद्ध भइरहेको छ । हूथी विद्रोहीहरूले राष्ट्रपति अब्द्रब्बुह मन्सूर हादी र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई राजधानी छोड्न बाध्य पारेपछि त्यहाँ युद्ध सुरु भएको थियो । त्यसअघि ती विद्रोहीहरू देशको उत्तरी भागलाई आफ्नो नियन्त्रणमा लिएर बसेका थिए ।

साउदी अरबले अपदस्थ राष्ट्रपति हादीलाई समर्थन गर्दै यमनमा हवाई आक्रमण सुरु ग¥यो । हूथी विद्रोहीविरुद्ध आक्रमण गर्न साउदी अरबले त्यस क्षेत्रका राष्ट्रहरूको एउटा गठबन्धनको नेतृत्व गरिरहेको छ । उक्त गठबन्धनले दिनहुँजसो यमनमा हवाई आक्रमण गर्छ। हूथीहरूले प्रायस् साउदी अरबतिर क्षेप्यास्त्र आक्रमण गर्छन् ।


कुल जनसंख्याको ८० प्रतिशत अर्थात झन्डै दुई करोड ४० लाख मानिसलाई मानवीय सहायता वा सुरक्षा आवश्यक परेको छ । तीमध्ये एक करोड मानिसलाई बाँच्नका लागि खाद्यान्न सहयोगमा निर्भर छन् ।

यमन युद्धमा ६५ प्रतिशतभन्दा बढीको मृत्यु साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई हमलाका कारण भएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.