ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई बाइडेन सम्बन्धी अनुसन्धान सुरु गर्न सुझाएको पुष्टि

0

काठमाण्डौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गएको जुलाईमा भएको युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्डर बाइडेनविरुद्ध अनुसन्धान सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आग्रह गरेको खुलेको छ ।

ह्वाइट हाउसले सार्वजनिक गरेको टेलिफोन वार्ताको विवरण अनुसार ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई बाइडेनका छोरा हन्टर बोर्ड मेम्बर रहेको युक्रेनी ग्यास फर्ममा भएको भनिएको भ्रष्टाचार बारे अनुसन्धान गर्न आग्रह गरेका थिए ।

बाइडेनको प्रभावमा सन् २०१६ मा सो अनुसन्धान रोकिएको ट्रम्पको आरोप छ । जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनको सम्भावना अरुको भन्दा बलियो छ । ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल पार्नका लागि विदेशी शक्तिको सहायता लिएको आरोप लागेको हो । टेलिफोन वार्ताको सार्वजनिक गरिएको विवरण अनुसार ट्रम्पले बाइडेन विरुद्ध अनुसन्धान सुरु गर्न युक्रेनका राष्ट्रपतिलाई भनेको खुलेको हो ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेपछि ह्वाइट हाउसले टेलिफोन वार्ताको विवरण सार्वजनिक गरेको हो । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मंगलबार राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानबिन सुरु गर्ने निर्णय भएको बताएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै पनि किसिमको गलत आग्रह वा प्रयास नगरेको दाबी गर्दै डेमोक्र्याटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभमा थालिएको अनुसन्धान प्रक्रिया ‘फोहोरी’ प्रयास रहेको बताउँदै आएका छन् ।

गएको शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेर पूर्व उपराष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान गर्न आग्रह गरेको खबर प्रकाशित भएको थियो ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी भएको स्वीकार गरेका थिए र उनले जो बाइडेन भ्रष्टाचारी रहेको पनि आरोप लगाए । बाइडेनले आरोप अस्वीकार गर्दै ट्रम्प र जेलेन्स्कीबिच भएको टेलिफोन वार्ताको ट्रान्स्क्रीप्ट सार्वजनिक गर्न माग गरेका थिए । तर सार्वजनिक भएको विवरण ह्वाइट हाउसकै कर्मचारीले सुनेको आधारमा टिपोट गरिएको विवरण हो ।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेका थिए । उनले सैन्य सहयोग रोकेको केही दिनपछि त्यहाँका राष्ट्रपतिलाई टेलिफोन गरेका हुन् । ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरी युक्रेनी राष्ट्रपतिलाई बाइडेनविरुद्धको अनुसन्धान सुरु गर्न दबाब दिएको आरोप छ । तर ट्रम्पले भने युक्रेन सरकारलाई दबाब दिनका लागि सैन्य सहयोग नरोकिएको दाबी गर्ने गरेका छन् ।

युक्रेनका राष्ट्रपतिले ट्रम्पको आग्रहलाई सम्बोधन गर्दै टेलिफोन वार्ताको क्रममा बाइडेन सम्बन्धी घटनाको अनुसन्धान गर्ने बताएका छन् । यस्तै उनले आफ्नो अमेरिका भ्रमणका बेला ट्रम्प टावरमा बसेको र त्यसका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यबाद पनि भनेका छन् ।

सार्वजनिक विवरण अनुसार ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई बाइडेन सम्बन्धी अनुसन्धानका लागि आफ्ना महान्यायाधीवक्ता जनरल विलियम बार तथा व्यक्तिगत वकिल रुडोल्फ गिउलिएनीसँग समन्व्य गर्न भनेका छन् ।

अमेरिकाको न्याया विभागले बुधबार ट्रम्पले बाइडेन सम्बन्धी अनुसन्धानबारे महान्यायाधीवक्तासँग कुरा नगरेको र महान्यायाधीवक्ता बारले युक्रेनसँग यस सम्बन्धमा कुरा नगरेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.