प्रत्येक दुई सकेन्डमा विश्वका ३५ हजार मानिस विस्थापित हुन्छन् !

0

बीबीसी – २०१८ मा मात्र प्रत्येक दुई सेकेन्डमा विश्वका ३५ हजार भन्दा धेरै मानिसहरु आफ्नो घर छाडेर जान बाध्य भएका थिए जसले विश्वको विस्थापित जनसङ्ख्या ७ करोड १० लाख पुर्याएको हो । यो अहिलेसम्मकै उच्च तथ्याङ्क भएको बताइएको छ । कूल २ करोड ६० लाख मानिसहरु बोर्डर पार गरेर भागेका छन् भने ३५ लाख अरुको देशमा शरण लिइरहेको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सी युएनएचसीआरको तथ्याङ्कमा देखिएको छ ।

किन यसरी धेरैभन्दा धेरै मानिसहरु आफ्नो देश, घरपरिवार, साथी र छिमेक टोल छाड्न बाध्य भइरहेका छन् त ? यसरी युद्ध, हिंसा, उत्पीडन र मानव अधिकार उल्लंघनका घटनाले नै महिला, पुरुष र बालबालिकालाई बेघर बनाइदिएको छ । युएनएचसीआरको डाटाअनुसार पछिल्लो १० वर्षमा विस्थापित मानिसहरुको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ ।

जसमा पनि इराक र सिरियामा जारी भयानक हिंसाले परिवार र समुदायलाई देशबाट धपाइरहेको पाइएको हो ।

त्यस्तै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, डीआरसी, यमन, दक्षिण सुडानलगायतका क्षेत्रमा जारी द्वन्द्व र साथै म्यानमारबाट बंगलादेश लखेटिएका रोहिङ्गा मुसलमानको घटनाले पनि विस्थापित जनसङ्ख्या झन बढाइदिएको बताइएको छ ।

तर शरणार्थीका विषयहरु केन्द्रमा भए पनि हिंसा वा उत्पीडनका कारण सिमाना पार गरेका अधिकांश मानिसहरु पछि आफ्नै देशमा बस्ने गरेको पनि पाइएको छ ।

किनकि उनीहरुले आफ्नो घर छाडे पनि आफ्नो मूल राष्ट्र छाड्दैनन् जसलाई आन्तरिक रुपमा विस्थापित समूह, आईडीपीको नाम दिइएको छ । आईडीपीहरु प्रायः धेरै टाढा भाग्न चाहँदैनन् किनकि उनीहरु जस्तोसुकै अवस्थामा पनि आफ्नो ठाउँ र समुदाय नजिकै रहने प्रयास गर्छन् वा उनीहरुसँग सीमा पार गर्ने फन्ड नभएकाले पनि यस्तो हुने गरेको छ ।

कतिपय युद्धग्रस्त क्षेत्रमै रहिरहने हुँदा सहायता गर्न चाहने एजेन्सीहरुलाई त्यहाँसम्म पुग्न कठिनाइ हुने गर्दछ । उनीहरु आफूलाई सुरक्षित राख्ने कुरामा सरकारमै निर्भर रहने गर्दछन् र कहिलेकाहिँ त्यही सरकारका कारण भाग्न बाध्य हुन्छन् जसले आफ्ना जनताको सुरक्षा सुनिश्चित गर्न असमर्थ रहे ।

त्यसैले पनि संयुक्त राष्ट्रसंघले आईडीपीहरुलाई विश्वकै सबैभन्दा संवेदनशील समूह मान्ने गरेको छ । कोलम्बिया, सिरिया र कंगोमा सबैभन्दा धेरै आईडीपी छन् ।

त्यस्तै अर्कोतर्फ प्राकृतिक प्रकोप र चरम मौसम बदलावले पनि ठूलो सङ्ख्यामा मानिसलाई विस्थापित गराइरहेको छ । यसपछिको अर्को सबैभन्दा ठूलो सङ्ख्यामा विस्थापित समूह भनेको शरणार्थीहरु हुन् ।

२०१८ को अन्त्यमा मात्र २ करोड ५९ लाख शरणार्थीहरु थिए जसमध्ये आधाभन्दा धेरै बालबालिका भएको पाइएको हो ।

हाल विश्वका चारमध्ये एक शरणार्थी सिरियाका छन् । यसरी हिंसा र युद्धग्रस्त क्षेत्रहरु सबैभन्दा नराम्ररी प्रभावित छन् । २०१८ मा सिरियाली नागरिकहरु बलपूर्वक विस्थापित गराइएको सबैभन्दा ठूलो समूहमा परेका हुन् । घरबाट लखेटिएका सिरियाली नागरिकहरुको सङ्ख्या १ करोड ३० लाख रहेको छ ।


यसपछि कोलम्बियाका जनता दोस्रो ठूलो विस्थापित समूहमा पर्दछ । जसमा ८० लाख भन्दा धेरै जबर्जस्ती घरबाट भाग्नुपरेको बताइएको छ ।

त्यस्तै विदेशमा शरण लिनेमा भेनेजुएलाका नागरिकहरु पनि शीर्षमा पर्दछन् । यसमा गतवर्ष मात्र करिब चार लाख नयाँ नागरिकहरुले शरणका लागि पहल गरेका हुन् । अत्यधिक मुद्रास्फीति, खाद्य वस्तुको अभाव, राजनीतिक संकट, हिंसा र उत्पीडनले भेनेजुएलाका हजारौँलाई घर छाड्न बाध्य बनाइरहेको छ ।


जसमध्ये अधिकांश पेरुतर्फ लागेका हुन् भने कति चाहिँ ब्राजिल बसाइ सरे, कति अमेरिका वा स्पेन अनि ७ हजार जनाले ट्रिनिडाड र टोबागोमा बस्नका लागि निवेदन दिएका छन् ।

यसरी विश्वभरका शरणार्थीहरु केबल पाँच देशबाट आउँदछन् – सिरिया, अफगानिस्तान, दक्षिण सुडान, म्यानमार र सोमालिया । यसमा धेरै सिरियालीहरु टर्कीतर्फ भागेका छन् भने आधाभन्दा धेरै अफगानी शरणार्थी पाकिस्तानमा छन् ।

यता सुडानीहरु चाहिँ युगान्डा जान्छन् र म्यानमारका अधिकतम रोहिङ्गा बंगलादेश भागेका हुन् । यसरी यी कुनै देशलाई अवरोध नगर्ने हुनाले जर्मनीमा मात्र विश्वका १० लाख सिरियाली नागरिक र करिब २ लाख अफगानीहरु बस्छन् । सन् २०१५ को स्वागत नीतिको नतिजास्वरुप यस्तो भएको हो तर अहिले भने यसले पनि कडाइ अपनाइरहेको छ ।

यता लेबनानमा पनि ६ मध्ये एकजना शरणार्थीका रुपमा रहेका छन् । यसरी विस्थापित मानिसहरु अर्को देश पुगेपछि अस्थायी वासस्थानमा अव्यवस्थित रुपमा बस्नु पर्दछ । विश्वको सबैभन्दा ठूलो त्यस्तो क्षेत्र बंगलादेशको कोक्स बजारमा अवस्थित छ जहाँ पाँचलाख भन्दा धेरै रोहिङ्गा बसोबास गरिरहेका छन् । यसपछि उत्तरी युगान्डाको बिडीबिडी क्षेत्रमा पनि लाखौँ विस्थापित सुडानीहरु बस्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.