माधव नेपाललाई ‘कारबाही गर्न’ प्रचण्डले बुझेको प्रतिवेदनमा के छ ?

0

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ किचलोका दुई प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझेका छन् । पहिलो, १६ केन्द्रीय सदस्यले दिएको प्रतिवेदनले हाल पदाधिकारी रहेका सत्यनारायण मण्डल, प्रभु साह, सुमन प्याकुरेललगायतलाई कारबाही गर्नुपर्ने थियो भने दोस्रोचाहिँ वरियतामा चौथो नम्बरमा पुगेका नेता माधवकुमार नेपाल र उद्योगमन्त्री मात्रीका यादवलाई कारबाही गर्नुपर्ने छ ।

महोत्तरीमा भएको शपथ ग्रहण कार्यक्रममा तनाब भएपछि नेकपाको मधेस क्षेत्रको तनाव अध्यक्षसम्म पुगेको हो । तल्लो तहसम्म भएको विवादको मुख्य विषय के थियो भन्नेबारेमा भने प्रचण्डले उक्त प्रतिवेदनहरू सचिवालयमा प्रस्तुत गर्छन् वा गर्दैनन् भन्ने पनि आशंका पलाएको छ ।

केन्द्रीय समिकरण मिलाउनका लागि प्रचण्ड–नेपाल नजिक देखिएका थिए भने प्रचण्ड–केपी शर्मा ओलीको समिकरण पनि अहिले बलियो रहेको बताइन्छ । ‘सचिवालयमा प्रतिवेदन छिरेको खण्डमा कारबाही गर्ने या नगर्ने अथवा अर्को छानबिन कमिटी गठन गरेर अघि बढ्ने भन्ने विषयमा छलफल हुन सक्छ’, प्रचण्डनजिकका एक नेता भन्छन्,‘बरिष्ठ नेता र मन्त्रीलाई नै कारबाही गरिनुपर्छ भन्ने प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटीमा पनि छलफल हुन सक्छ ।’

प्रचण्डले तत्कालै कसरी अघि बढ्ने भन्ने सन्दर्भमा नेपाल र यादवलाई कारबाहीको माग गर्ने समूहलाई कुनै उत्तर दिएका छैनन् । तर उनले यो विवाद र विवरणको निरुपण गर्नका लागि ओलीसँग सल्लाह गर्ने बताइएको छ ।

यसै पनि पूर्वमाओवादीभित्र नै मधेस मामिलामा आजदेखि नभई धेरै अघिदेखि किचलो हुँदै आएको थियो । त्यसैको पृष्ठभूमीको प्रभावमा मात्रीका यादव र प्रभु साहको लडाँई देखिएको थियो । अर्कातिर, संगठित भएका कारण पूर्वएमालेमा त्यतिसाह्रो किचलो देखिएको थिएन । तर ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि मधेस क्षेत्रमा सत्यनारायण मण्डलले मौका पाउँदै आएका थिए । एकीकरणपछि भने विविध गुटको प्रभाव रहेको देखिन्छ । सोही क्रममा बरिष्ठ नेता नेपालको पनि नाम मुछिएको हो ।

‘माथिदेखिको विवादलाई नै नियतका आधारमा नेताहरुलाई कारबाहीको कुरा उठेको छ’, एक नेता भन्छन्,‘प्रधानमन्त्री तथा अध्यक्षसँग भएका विमति र विवादका कुरा पनि सतहमा आएका कारण यस्तो प्रतिवेदन र माग भएको हुनसक्छ ।’

Leave A Reply

Your email address will not be published.