पूर्वी अफगानिस्तानमा भएको हवाईहमलामा कम्तीमा ३० सर्वसाधारण मारिए

0

एजेन्सी – पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगमा अफगानी सेनाले गरेको हवाईहमलामा परी कम्तीमा ३० जना सर्वसाधारण मारिएका छन् भने ४० भन्दा बढी घाइते भएका छन् ।

बुधबार राति भएको हमला इस्लामिक स्टेट (आईएस) को अखडा ध्वस्त पार्ने लक्ष्यका साथ गरिएको बताइएको छ ।

तर उक्त आक्रमणमा नान्गरहर प्रान्तको खोग्यानी जिल्लाको बजिर तंगी क्षेत्रमा खेत नजिकै रहेका किसानहरु निसानामा परेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त प्रान्तका प्रान्तिय सदस्य सोहराब कादरीका अनुसार उक्त क्षेत्रमा भएको ड्रोन हमलामा पाइन नट क्षेत्रमा कम्तिमा ३० जना कामदार मारिएका छन् भने कम्तिमा ४० जना घाइते भएका छन् ।

काबुलको रक्षा मन्त्रालयले अफगान र युएस सेनाले गरेको उक्त हवाई अप्रेशन आईएस लक्षित भएको दाबी गरेको छ, तर उक्त हमलामा सर्वसाधारण नागरिकको मृत्यु भएको कुरा अस्वीकार गरिएको छ ।

नान्गरहरका प्रान्तिय गभर्नरका प्रवक्ता अट्टाउल्लाह खोग्यानीले हवाई ममला भएको पुष्टी गरे । उनले भने, ‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ, अहिलेसम्म पाइन नट क्षेत्रको नजिकै आक्रमण स्थलबाट नौ वटा शव संकलन गरिएको छ ।’

काबुलमा रहेको अमेरिकी सेनाले भने हमलाको विषयमा कुनै टिप्पणी गरेको छैन ।

Leave A Reply

Your email address will not be published.