दुईतिहाईको सरकार इतिहासकै भ्रष्टचारी, सुरक्षाकर्मीलाई समेत कार्यकर्ता बनाइयोः देउवा

0

काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान दुईतिहाईको सरकारको बेला इतिहासमै नभएको भ्रष्टचार भएको बताएका छन् । सरकार जनउत्तरदायी भन्दा भ्रष्टाचारी र कमिशनखोरको संरक्षक बनेको नेता देउवाले बताए ।

प्रतिनिधिसभाको चालू बजेट अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाले सो कुरा बताएका हुन् । रोष्टमबाट दलको तर्फबाट बोल्दै सभापति देउवाले संविधानले ग्यारेन्टी गरेका मौलिक र स्वतन्त्र व्यवस्थालाई सिध्याउन दुईतिहाईको सरकार लागिपरेको बताए । पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न सरकार लागिपरेको भन्दै खुला र स्वतन्त्रपूर्वक राजनीतिक गतिविधि गर्ने अधिकार संविधानले दिएको अवस्थामा बाँकेमा कांग्रेसका जिल्ला सभापतिमाथि सांघतिक हमला गरेर सरकारले अधिनायकवाद चलाएको बताए ।

हमलाका दोषीलाई कारवाही गर्न सुरक्षाकर्मीले समेत आनाकानी गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेस संसद अवरुद्ध गर्न बाध्य भएको स्मरण नेता देउवाले संसदलाई गराए । जनताबाट उठेका करबाट तलब–भत्ता खाइरहेका सुरक्षाकर्मीले प्रतिपक्षीका कार्यकर्तामाथिका आक्रमणकारीलाई कारवाही नसक्नुले देश कता जान्छ भन्ने प्रश्न गर्दै देशमा शान्ति सुरक्षा स्थिति कमजोर बन्दै गएको उनको धारणा राखे । साथै सुरक्षाकर्मीलाई आफ्ना कार्यकर्ताको रुपमा सरकारले प्रयोग गरेको आरोप लगाए ।

‘सुरक्षा दिने जिम्मेवारी बोकेका सुरक्षाकर्मी नै सरकारका पार्टीका कार्यकर्ता बन्ने हो भने देशको शान्ति सुरक्षाको स्थिति के होला ? सर्वसाधारणको अवस्था कस्तो होला ?’ नेता देउवाले भने । शान्ति सुरक्षा स्थिति बिग्रने र जनताको अधिकार खोसिँदै जाने हो भने काँंग्रेस सडक र सदनमा कडा रुपमा प्रस्तुत हुने चेतावनी उनले दिए ।

प्रतिपक्षको आवाज नसुनीकनै सरकारले बलजफ्ती थुप्रै विधेयकहरु विवादास्पद रुपमा पारित गरेको भन्दै देउवाले सरकारको अधिनायकवादी शैलीको चर्को आलोचना गरे । सरकारलाई आफ्नो व्यवहार सच्याएर अगाडि बढ्न सुझाव दिँदै संविधान दिवसको पूर्वसन्ध्यामा शुभकामना व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.