गृहमन्त्रीका भाई एक लाख बुझाएर छुटे

0

काठमाण्डौं – निर्माण व्यवसायीलाई धम्की दिएर रकम असुली गर्ने समिरमानसिंह बस्न्यात समूहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापा रिहा भएका छन् ।थापालाई काठमाण्डु जिल्ला अदालतले बुधबार थुनछेक बहसमा एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गरेको आदेशमा थापाको आपराधिक गिरोहसँग साँठगाँठ रहेको भन्ने आरोप प्रमाणित हुने आधार नभेटिएको अदातको उल्लेख छ । थापासँगै पक्राउ परेका अरु प्रतिवादीहरु पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र विनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको हो ।

थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गत साता पक्राउ गरेको थियो । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य अभियुक्त ठहर भई जेलमा हरेका गुण्डा नाइके समिरमानसिंह बस्न्यात समूहसँग गृहमन्त्रीका भाईको ‘कनेक्सन’ देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । बस्न्यातले जेलभित्रैबाट समूहल परिचालन गरी २५ भन्दा बढी निर्माण व्यवसायीसँग मोटो रकम माग गर्दै धमकी दिएका थिए ।

सो समूहसँग थापाको भेटाघाट र टेलिफोन कुरकानी भएको पाइएपछि शंकाको घेरामा तानिएका हुन् । थापाले बयानका क्रममा बस्न्यात समूहका शैलेश प्रजापति र विनोद लामालाई सिटी सेन्टरस्थित फुडकोर्टमा चिनेको र प्रजापति पक्राउ परेका बेला प्रहरीको कमलपोखरी वृत्तमा भेट्न गएको स्वीकार गरेका छन् । तर, बस्न्यातलाई भेट्न केन्द्रीय कारागार गएको भन्ने आरोप अस्वीकार गरेका छन ।

Leave A Reply

Your email address will not be published.