पहाडमा अविरल वर्षा, तराईमा डुबान, सहयाेगका लागि अपिल

0

काठमाण्डौं – दुई दिनदेखि पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् ।

नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेका हुन् ।

वर्षात्बाट परेको जमेको पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन् । घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन् । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्नसमेत कठिनाई भएको उनले बताइन् ।

‘अस्ति भर्खर बाटो र नाला बनेको थियो, तर त्यसले केही काम गरेन,’ उनले भनिन् ‘नालामा माटो र प्लाष्टिक मात्रै भरिएको छ, पानी कहाँबाट बगेर जाओस् त !’ नेपालगन्जको सहिद सेतु विक चोक क्षेत्रमा पनि आधा दर्जनबढी पसल डुबेका छन् । नेपालगन्जसँगै जोडिएको जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुराको वडा नम्बर ७ मा आधा दर्जन बढी घर डुबेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक शिव सिंहले जानकारी दिए ।

‘खजुरा क्षेत्रमा अहिलेसम्म आधा दर्जन बढी घर डुबेको खबर प्राप्त भएको छ, त्यहाँ उद्धारको लागि ईन्स्पेक्टरको कमाण्डमा प्रहरी टोली परिचालित भएका छन्’ सिंहले भने । अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले सर्तकता अपनाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले आग्रह गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु¥याएको क्षतिबारे बुझ्ने काम भइरहेको बताए ।

त्यस्तै उदयपुरमा बाढीबाट ३७ परिवार विस्थापित भएका छन् । जिल्लाको बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन् । भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा बेलका ६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् । गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।


वर्षा नरोकिँदा ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको थापाले जानकारी दिए । पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् । उनीहरुको उद्धारका लागि बुधबार बिहानैदेखि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको मेयर थापाले बताए ।

पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरिसकेको छ भने जयलाल राईको आधा घर भत्काइसकेको उनले बताए । पहिरोले मानबहादुर माझीको ३ विघा खेतीयोग्य जमिन पुरेको छ भने माइक्रो हाईड्रो पावर पूर्णरुपले क्षतिग्रस्त भएको छ । स्थानीयका खेतीयोग्य जमिन वगरमा परिणत गर्नुका साथै सिचाईँ कुलो, बोरिङ्ग र खानेपानीमा क्षति पुगेको जनाइएको छ । शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको वडाध्यक्ष दिपक दंगालले जानकारी दिए ।

स्थानीय नदी तथा खहरेले ९ धौरी, १ को आम्बासी, २ को धार र प्रथा खोलाले पारुहाङ्ग क्षेत्रका धानखेतीमा क्षति र्पुयाएको छ । लगातारको भेलबाढीले उदयपुरको बेलका र सुनसरीको वरहाक्षेत्र नगरपालिकाको सिमानाबाट बग्ने सप्तकोसी नदीले स्थानीयको जमिन कटान गरेको मेयर थापाले बताए ।

सप्तकोसीले पश्चिमी क्षेत्रको चिलियामा कटान गर्दा धार परिवर्तन गर्ने सम्भावना बढेको उनले बताए । बाढी घरमा पसेपछि स्थानीय ज्यान जोगाउँदै बाहिरिएका थिए । घार खोलामा आएको बाढी गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा केही निकाल्न नपाएको मानबहादुर माझीले बताए । बाढीले सुंगुर, गोरु, गाई समेत बगाएको छ ।

त्यस्तै चौदण्डीगढी नगरपालिका ३ को कालीखोलामा आएको बाढीले को १ च ६४२० नम्बरको मारुती भ्यान बगाएको छ । स्थानीयले भ्यानमा रहेका तीनजनालाई सकुशल उद्धार गरेका छन् भने भ्यानसमेत निकालेको प्रमुख जिल्ला अधिकारी धु्बबहादुर खड्काले बताए ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका –३ का रमानन्द साहले सञ्चालन गरेको किराना पसलमा बाढी पस्दा ६ लाख बराबरको क्षति पुगेको बताए । विपत्तिको घडीमा एकाअर्कालाई सामुदायिकरुपमा सहयोग गर्न र सबै विकास साझेदारलाई राहात उद्धार र पुनःस्थापनका लागि सहयोग गर्न हार्दिक अपिल गर्दछु’ साहले अपिल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.