रवीन्द्र मिश्र सत्तामा पुगे २०४६ पछिको नेतृत्वमाथि छानबिन गर्ने !

0

‘कास्कीमा हुने उपनिर्वाचनको उम्मेदवार म होइन’

काठमाण्डौं – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सत्तामा पुगे पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयको परिकल्पना गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनमा मिश्र काठमाण्डौं १ बाट पराजित भएका हुन्। संघीय संसद्‍मा उनको पार्टीको प्रतिनिधित्व नै छैन। तर उनले शनिबार कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा कार्यक्रममा बोल्दै आफ्नो सरकारको पहिलो मन्त्रिपरिषद् निर्णयको परिकल्पना सुनाएका हुन्।

‘हाम्रो पार्टी सत्तामा गएपछि पहिलो मन्त्रिपरिषदको निर्णय ३०४६ साल यताका राजनीतिक नेतृत्व, प्रशासन प्रमुखलगायतको सम्पत्ति छानबिन गर्ने हुनेछ’, मिश्रले भने, ‘भ्रष्टाचार नै देश समृद्धिको यात्रामा अघि बढ्न बाधक भएकोले यसलाई जरैबाट उखेलेर जनताको पक्षमा काम गर्छौँ।’

त्यसैगरी मिश्रले आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले कास्कीकै उम्मेदवार उठाउँने स्पष्ट परे। पत्रपत्रिका र समाजिक सञ्जालमा कास्कीमा हुने उपनिर्वाचनमा साझा पार्टीबाट पार्टी केन्दिय संयोजक मिश्र उठ्ने समाचार आएपछि आफ्नो पार्टी भित्र कास्कीमै योग्य उम्मेदवार रहेको बताएका हुन्।

उपनिर्वाचनमा उठ्न योग्य उम्मेदवार कास्की जिल्लामा रहेकोले आफ्नो पार्टीले यहीको उम्मेदवार उठाएर जित्ने गरी तयारी छिट्टै थाल्ने बताए। उपनिर्वाचन कांग्रेस पार्टी र नेकपाका लागि जनमत संग्रह भएको उनले बताए। ३० वर्षदेखि जनताको हितमा काम नगर्ने पार्टीलाई यो जनमत संग्रहमा जनताले हराइदिने उनले दाबी गरे।

‘उहाँहरुले परिवर्तनका लागि जेलनेल खानु भो। त्याग गर्नु भो उहाँहरुलाई धेरै सम्मान छ’, उनले भने, ‘देश निर्माण र समृद्धिको यात्रामा नेकपा र नेपाली कांग्रेस असफल भएकोले साझा पार्टीबाट मात्र सम्भव छ।’

सर्वहारा, गरिब जनताको नाममा राजनीति गरेका नेता जनताको दुःखमा सहयोगी हुन नसकेको उनले सुनाए। हिजो चप्पल बजाउँदै हिड्ने नेताहरु आज सिंगापुरमा उपचार गराउदै गर्दा सर्वहारा जनता औषधि मुलो नपाएर मृत्यु भइरहेको उनले बताए। ति सर्वहारा जनताको घाउँमा मलमलगाउने नेतृत्व आफ्नो पार्टीले गर्ने उनले सुनाए। त्यसका लागि पोखरेली नागरिकले यस जनमत संग्रहमा साझा पार्टीलाई जिताउने उनले विश्वास गरे।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख केशव दाहाललगायतले पनि बोलेका थिए। यसै कार्यक्रममा साझा पार्टीले कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ भएको घोषण गरेको थियो।

अन्नपूर्ण पोष्ट

Leave A Reply

Your email address will not be published.