बाँके घटनामा गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।


प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरी राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराईएको आरोप लगाए। जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको निन्दा र भत्र्सना गरे।

भदौ २६ गते बाँकेको खजुरा गाउपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरी कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी उनले गरे।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई कारवाही हुने प्रतिवद्धता जनाएका थिए।

उनले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राति नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तिब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका थिए।

उनले खजुरा गाउपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समूहले कार्यक्रमलाई विथोल्ने प्रयास गरेको ,होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भांच्चिएकोमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गरे।

उनले सरकारले आफ्नो कारवाहीको प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्याउनेलाई कडा कारवाही गर्न सरकार दृढ रहेको बताए।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गरे। त्यसैगरी, सांसद अमरेश कुमार सिंह लगायत कांग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारवाही हुन्छ कि हुदैन भनी प्रश्न गरेका थिए।

रामबहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाए। सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाए।

गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिष्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिवद्धता नजनाएसम्म सदन संञ्चालन हुन नसक्ने बताए।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै गृहमन्त्रीको जवाफमा प्रतिकार गरिन्।

उनले भनिन्–यो सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो? नेपाली कांग्रेसको जनजागरण अभियानका क्रममा बाँकेका सभापति र केन्द्रीय प्रतिनिधिमाथि सांघातिक आक्रमण भएको कुरालाई साधारण भन्न मिल्दैन यसलाई प्रमुख प्रतिपक्षी दलले घोर भत्र्सना गर्दछ।

१० जनाको विरुद्धमा किटानी जाहेरी गएको छ। दर्ता गर्नका लागि निर्देशन नदिएसम्म सदनको कारवाही अघि बढ्न सक्दैन।’

Leave A Reply

Your email address will not be published.