एनसेलविरुद्ध संघर्ष व्यापक बन्दै, विप्लव नेकपाद्वारा एनसेलको कार्यालयमा तालाबन्दी

0

काठमाण्डौं – विदेशी कम्पनीद्वारा संचालित एनसेलले ७५ अर्ब रुपैयाँ लाभकर छलेको भन्दै विरोधमा झण्डै चार वर्षदेखि निरन्तर संघर्ष गर्दै आइरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उसको शाखा कार्यालयहरुमा तालाबन्दी गर्न शुरु गरेको छ ।

भदौ १७ गतेबाट जारी राखेको पछिल्लो संघर्षका कार्यक्रमअनुरुप सोमबार उक्त पार्टीले एनसेलका देशभरका शाखा कार्यालयहरुमा तालाबन्दी गरेको छ । सोही अनुसार सोमबार दिउँसो दाङको घोराहीस्थित दामोदर चोकमा रहेको शाखा कार्यालयमा विप्लव नेकपाका कार्यकर्ताहरुले ताल्चा लगाइदिएका छन् । उसले आज तालाबन्दी गर्ने कार्यक्रम घोषणा १४ गते नै गरेको थियो ।

विदेशी कम्पनी एक्जियटाद्वारा संचालित एनसेललाई ठूला करदाता कार्यालयले ६१ अर्ब भन्दा लाभकर निर्धारण गरी तिर्न पत्राचार गरेको थियो । सो विषयलाई सर्वोच्च अदालतले २०७५ मै प्रधान न्यायाधीशसहित पाँच जनाको पूर्ण इजलासले सही ठहर गरेको पनि थियो । तर निर्धारण विधि नै नमिलेको भन्दै कार्यालयविरुद्ध एनसेलले सर्वोच्चमा मुद्दा हालेको थियो । सोही मुद्दामा यही भदौ ९ गते सर्वोच्चका पुनः पाँच न्यायाधीशको पूर्ण इजलासबाट पहिलेको आदेशलाई बदर गर्दै एनसेलको मागअनुसार फैसला गरेको थियो ।

त्यसपछिबाट सडकदेखि सदनसम्म फैसलाको आलोचना भइरहेको छ । विप्लव नेकपा त कर तिराउने फैसला बदर गर्ने न्यायाधीशहरुको पुत्ला समेत दहन गर्दै कडा संघर्षमा उत्रिएको छ । कार्यक्रम अनुसार भदौ २६ गते देशभर भ्रष्टचारीहरुको पुत्लामा कालोमोसो दल्ने नेकपाले जनाएको छ ।

यसअघि नेकपाले एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरिसकेको छ भने अझै कारवाही सशक्त बनाउने उसको उद्घोष छ । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा विष्फोट गराएको थियो । सोही घटनालाई लिएर सरकारले उक्त नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.