रामेछापको शैलुङ झरनानजिकै सडकमा पहरा खस्यो

0

क्षतिको विवरण आउन बाँकी

काठमाण्डौं – केहीबेर अघि रामेछापको दोरम्बा–४ टेक्सिङस्थित शैलुङ झरनानजिकै लब्सीबोट खाेल्सामा पहरा खसेको छ । सडकदेखि करिब ३० मिटर माथिपट्टिको पहरा झरेर सडक अवरुद्ध भएको छ । यसबाट पुँडीघ्याङ–दर्गा बीचको सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

पहिरोबाट मानवीय क्षति नभएको र सडक अवरुद्ध रहेको स्थानीय युवा लालध्वज लामाले जानकारी दिए । पहिरो सोमबार दिउँसो २ः५४ बजेतिर गएको जानकारी स्थानीयले दिएका छन् । ‘हामी नियमित काम जाने क्रममा ठूलो आवाजसाथ पहरा झरेको हो’ उनले भने, ‘करिब ३० मिटर पूरै सडक पहरा खसेर छोपिएको छ । दिउँसोको समय भएपनि मानवीय क्षति चाहिं हुन पाएन । राम्रो कुरा यो छ ।’ अहिले पनि ढुंगा झर्ने क्रम नरोकिएको उनले बताए ।

पहरा नै झरेपछि पैदल यात्रु समेत आवतजावत हुन बन्द भएको छ । उनीहरुले घुमाउरो बाटो टेक्सिङकाे प्रयोग गर्नुपर्ने भएका छन् । नियमित आवतजावत भइरहने यो बाटोमा पहिरो खस्दा बखत् भने सडक खाली रहेकोले मानवीय क्षति हुनबाट जोगिएको हो । यस क्षेत्रलाई पासेवन प्रहरी चाैकीले हेर्दै आएको छ । अन्य क्षति के कति भएकाे हाे भन्नेबारे विवरण अाउन बाँकी छ । पहिरो खसेको बारे जानकारी नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनायो ।

२०७२ को महाविनासकारी भूकम्पबाट चर्किएको पहरा खसेको अनुमान स्थानीयले गरेका छन् । सैंतिस भन्दा बढी घरधुरी रहेको टेक्सिङ गाउँदेखि उत्तरतिर तल्लो भागमा पहरा खसेको हो । स्मरणीय के छ भने महाभूकम्पपछि अध्ययन गर्न पुगेका भूगर्भविद्हरुले सिंगो टेक्सिङ बस्तीलाई नै स्थानान्तरण गर्न सुझाव दिएका थिए । तर त्यसलाई अझै कार्यान्वयनमा ल्याइएको छैन ।

Leave A Reply

Your email address will not be published.