जहाँ रहेपनि एनसेलको लाभकर प्रकरणबारे आवाज उठाउन छोदिनँः सांसद गौतम

0

काठमाण्डौं – एनसेलको पुँजीगत लाभकर निर्धारणबारे सर्वोच्च अदालतले गरेको फैसलालाई छलफलको विषय बनाउनुपर्ने प्रस्ताव राख्दै ‘भ्रष्ट’ एनसेलविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आइरहेका संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य सांसद सञ्जयकुमार गौतमलाई त्यहाँबाट हटाइएको छ ।

गौतम बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेका नेता वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका सांसद हुन् । कांग्रेसको संदीय दलको पत्रको आधारमा गौतमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले त्यहाँबाट हटाएर विकास तथा प्रविधि समितिमा पठाउने निर्णय गरेको हो । बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसदहरूको समिति हेरफेर गर्ने प्रस्तावलाई सदनले अनुमोदन गरेको थियो ।

समिति परिवर्तनबारे सांसद गौतम शुक्रबारदेखि गृहजिल्ला बर्दियामा छन् । सोमबार मात्र फर्किने जानकारी उनले दिए । कानून न्याय समितिबाट हटाउने जानकारी आफूले हटाएपछि मात्र थाहा भएको बताए ।

हटाएपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय एनसेलको कर प्रकरणलाई आफूले बलियोसँग उठाएको उनले बताए । ‘एनसेलको कर प्रकरणमा सर्वोच्चबाटै घरि अर्को, घरि अर्को आदेश दिएर जनतामा भ्रम सिर्जना गरेको कुरा मैले समितिमा राम्ररी दर्ज गरिसकेको छु, अब जाने साथीहरुले त्यसलाई मर्न दिनुहुन्न भन्ने विश्वास लिएको छु’ अनलाइनपाना डटकमसँग कुराकानी गर्दै सांसद गौतमले बताए । समितिमा रहँदा अन्य सांसदहरुले पनि एनसेलबारे मत दिइसकेकोले आफूलाई एजेण्डा नमर्नेमा विश्वस्त रहेको पनि उनले बताए ।

आफू जहाँ रहेपनि एनसेल कर विवादलाई जनताको पक्षमा परिणाम ल्याउन निरन्तर आवाज उठाइरहने उनले जानकारी दिए । ‘मैले न्याय समिति हुँदा सर्वोच्चले पूर्वआदेशको विपरीत हुनेगरी एनसेलको पक्षमा गरेको फैसलालाई अध्ययन गर्न पाउनुपर्ने भनेर राखेका प्रस्तावमा सभापति जीले तपाईले उठाउनु भएको विषय निकै गम्भीर र आम चासोको विषय छ । यसमा म कानूनका विद्वानहरुसँग राय लिएर के गर्न मिल्छ त्यो गर्छु भनिसक्नु भएको छ’ सांसद गौतमले भने ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको लाभकरमा भदौ ९ गते सर्वोच्च अदालतबाट झण्डै १८ अर्ब रुपैयाँ मिनाह हुनेगरी एनसेलको पक्षमा गरेको फैसलाले आचारसंहितालाई क्षतविक्षत बनाएको उनको भनाई छ । साथै पार्टीको निर्देशन आफूले पूर्ण पालना गर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.