ब्रेजिक्ट र बेलायती राजनीति:बेलायती प्रधानमन्त्री जोन्सनलाई अर्को झड्का

0

आम चुनावको प्रस्ताव पनि अस्वीकृत

काठमाण्डौं – केही महिनाअघि मात्रै सत्तामा आएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गरेका छन् ।

बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले गरेको आम चुनावको प्रस्ताव पनि असफल भएको छ ।

सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले आफूले ल्याएको विधेयक पारित हुन नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसद (हाउस अफ कमन्स) मा पेश गरेका थिए । तर त्यो प्रस्ताव पनि असफल भएको छ ।

बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो । सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुने सम्बन्धी कानून बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो ।

संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले आम चुनाव नै उत्तम विकल्प रहेको भन्दै त्यसको प्रस्ताव गरेका हुन् । तर लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले बिना सम्झौताको ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले कपटी खेल खेलिरहेको आरोप लगाएका छन् ।

आफ्नो पार्टी चुनावको पक्षमा रहेको तर त्यो ब्रेक्सिट सम्बन्धी विधेयक पारित भएपछि मात्रै हुनु पर्ने उनले बताएका छन् । ब्रेक्सिट सम्बन्धी विधेयक सबैको सहमतिमा हुनु पर्ने उनको भनाई छ । नो डिल ब्रेक्सिटका लागि बाध्य पार्ने मनसायले आउने कुनै पनि विधेयक वा राजनीतिक खेलको पक्षमा आफ्नो पार्टी नरहेको उनले स्पष्ट पारेका छन् ।

एसएनपी तथा लिबरल डेमोक्र्याटिक पार्टीले पनि नो डिल ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले गरिरहेको प्रयासको विरोध गरेका छन् ।

जोन्सनका समर्थकले भने पछिल्लो दुई वर्षदेखि आम चुनावको माग गरिरहेका विपक्षीहरुले त्यसको वास्तविक प्रस्ताव आउँदा विरोध गरेको भन्दै आलोचना गरेका छन् ।

जोन्सनले आउँदो अक्टोबर १५ मै आम चुनाव होस् भन्ने चाहेका छन् । चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ । तर जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २९८, विपक्षमा ५६ र मत नदिने सांसदको संख्या २८८ रह्यो ।

Leave A Reply

Your email address will not be published.