जम्मू – कश्मीरमा भारतीय सेनाले गम्भीर यातना दिएको आरोप

0

‘सहनै नसक्ने गरी नकुट, बरु गोली हानेर मारिदेउ’

बिबिसी – भारत प्रशासित जम्मू–कश्मीरमा आर्मी तथा सुरक्षाकर्मीले सर्वसाधारणमाथि गम्भीर अत्याचार तथा यातना दिएको आरोप लागेको छ।

भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निष्प्रभावित घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो । कश्मीरको स्वायत्तता खोसिएपछि त्यहाँ सुरक्षाकर्मीको तैनाथी अत्याधिक पारिएको छ । सञ्चार सुविधा अधिकांश रुपले बिच्छेद गरिएको छ।

सरकारी निर्णयको विरोधमा आएकाहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । उनीहरुलाई सुरक्षाकर्मीले कुटपिट तथा गम्भीर यातना दिएको आरोप लागेको हो ।

सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई कुटपिट गरेको आरोप छ । धेरै स्थानीय बासिन्दाले आफूहरुलाई लौरी तथा तारले कुटेको तथा इलेक्ट्रिक सक दिएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

बिबिसीका पत्रकार समीर हाशमीले स्थानीय युवाको भनाई यसरी लेखेका छन्, ‘मलाई विभिन्न गाउँमा बासिन्दाले आफ्नो तस्बिर देखाए, जसमा उनीहरुका शरीरमा कुटपिटका निशान देखिन्थे ।’

तर ती तस्बिर सुरक्षाकर्मीबाटै भएको यातनाका हुन् भन्ने स्वतन्त्र पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ । भारतीय आर्मीले आफूमाथि लागेको यातनाको आरोप ‘आधारहीन र अप्रमाणित’ रहेको बताएको छ।

पछिल्लो तीन हप्तादेखि कश्मीर लकडाउनको अवस्थामा छ । सञ्चार तथा इन्टरनेट सेवा बन्द गरिएका छन् । जसले गर्दा सूचना संकलन गर्न कठिन हुने गरेको छ । दशौँ हजार थप सुरक्षाकर्मी तैनाथ भएका छन् । राजनीतिक नेता, व्यवसायी तथा अधिकारकर्मीसहित तीन हजार भन्दा बढी मानिस पक्राउ परेका छन् । धेरैलाई राज्य बाहिरका जेलमा सारिएको छ । राज्यमा शान्ति सुव्यवस्था कायम गर्नका लागि यस्तो गरिएको सरकारी अधिकारीले बताउने गरेका छन् ।

यसैबिच मानवाधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको आलोचना गरेको छ । जम्मू–कश्मीरमा इन्टरनेट था टेलिफोन सेवा बन्द गरिँदा त्यहाँका बासिन्दा समस्यामा परेको भन्दै उसले गम्भीर चासो दर्साएको हो । अत्यावश्यक सेवा तत्काल सुचारु गर्न ह्युमन राइट्स वाचले भनेको छ ।

बिबिसीका पत्रकार हाशमीसँग कश्मीरका एक युवाले भनेका छन्, ‘उनीहरुलाई हामीलाई कुटे । हामीले सोधिरहेका थियौँ की–खासमा हामीले के गरेका छौँ?, तपाईँले गाउँलेहरुसँग पनि सोध्न सक्नुहुन्छ यदी हामीले झुट बोलेका रहेछौँ जस्तो लाग्छ भने । उनीहरुले हाम्रो कुरै सुन्न चाहेनन् । उनीहरुले कुटिमात्रै रहे ।’

पीडित व्यक्तिले भनेका छन्, ‘उनीहरुले मेरो शरीरको हरेक भागमा कुटे । लात्ताले हाने, लौरीले हाने, इलेक्ट्रिक सक दिए, तारले कुटे । खुट्टाको पछाडिको भागमा कुटे । हामी बेहोस भएपछि इलेक्ट्रिक सक दिएर होसमा ल्याए । उनीहरुले कुट्दा दुखेर चिच्याउँदा हाम्रो मुखमा हिलो राखिदिए ।’

पीडित युवाले अघि भनेका छन्, ‘हामी निर्दोष हौँ भन्यौँ, किन यस्तो गरिरहेका छौँ भनेर सोध्यौँ ? तर उनीहरुले हामीलाई सुन्दै सुनेनन् । मैले उनीहरुलाई भनेँ–हामीलाई नकुट, बरु गोली हानेर मारिदेउ । मैले भगवानसँग मृत्यु मागिरहेको थिएँ, किनकी यातना सहन गर्न सक्ने अवस्थाको थिएन ।’

अर्का एक युवाले भने, ‘उनीहरुले हामीलाई प्रदर्शनको क्रममा ढुंगा हान्नेहरुको नाम भन्न भन्दै यातना दिए । तर हामीलाई थाहा नै थिएन ।’

किशोरवयका ती युवाले भने, ‘उनीहरुले मलाई लुगा फुकाल्न भने । सबै लुगा फुकालेपछि लगातार दुई घण्टासम्म रड तथा लौरीले कुटे । जब म बेहोस हुन्थेँ, इलेक्ट्रिक सक दिएर उठाउँथे ।’

यातनाले भयभित र आक्रोशित भएका ती किशोरले भने, ‘यदी उनीहरुले फेरि पनि ममाथि त्यस्तै गरे भने म जे पनि गर्न सक्छु होला । शायद हतियार उठाउँछु होला, किनकी हरेक दिनको यस्तो यातना सहन गर्ने क्षमता छैन मसँग ।’

Leave A Reply

Your email address will not be published.