गगनले सुरु गरे मन्त्रीको कार्यकक्षमै धर्ना, क-कसले दिए साथ ?

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका युवा नेता, प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका सडकहरु तत्काल निर्माणको काम सुरु नगरे सिंहदरबारभित्रै धर्नामा बस्ने चेतावनी दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न सडकहरुको काममा भइरहेको ढिलाइको विरोधमा शुक्रबार सडक विभागमा गरिएको सांकेतिक धर्ना कार्यक्रममा सांसद थापाले सडक निर्माणका लागि दबाब दिन सिंहदरबारभित्रै धर्ना दिने चेतावनी दिएका हुन् ।

“हाम्रो सडक बनाउनका लागि सडक संघर्ष गर्नुको विकल्प नभइसकेपछि तत्काल काम सुरु गर्नका लागि यो सांकेतिक धर्ना हो । तत्काल काम सुरु नभए धर्ना कार्यक्रम हुन्छ,” उनले भने, “अबको धर्ना कार्यक्रम यहाँ हुँदैन, सिंहदरबारमा हुन्छ र मन्त्रालयभित्र हुन्छ ।”

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तत्काल अधुरा सडकहरुको निर्माण कार्य अगाडि बढाउन आग्रह गर्दै माग पूरा नभए नागरिकको दुःखको उपचार मन्त्रालयमै आएर खोज्ने पनि चेतावनी दिए ।

“म यहीँबाट मन्त्रीजीलाई आग्रह गर्दछु– तपाईं कि आउनुस् सडकमा कि बनाउने काम तत्काल सुरु गर्नुस् । होइन भने हामी सडकको अड्डामा आएर धेरै दुःख दिन्नौं । धर्ना दिने कार्यक्रम सिंहदरबारभित्र हुन्छ,” उनले भने, “हामी सडकमा गएर जनतालाई दुःख दिन चाहन्नौं । तर हामीलाई दुःख दिएर मन्त्रीजी आरामले बस्न पाउनुहुन्न । हामी मन्त्रीजीको कार्यकक्षमा आएर त्यहाँभित्र हामी नागरिकले पाएको दुःखको उपचार खोज्छौं ।”

आफूले निर्वाचन जितेका क्षेत्रका ठेक्का सम्झौता भइसकेका सडकहरुको निर्माण छिटो गर्न पटक–पटक सडक विभागसँग लिखित तथा मौखिक आग्रह गर्दा पनि सुनुवाई नभएपछि आफूहरु सांकेतिक रुपमा धर्नामा बस्न आएको थापाले जानकारी दिए । प्रदेशसभा सांसद नरोत्तम वैद्य र न्हुच्छेनारायण श्रेष्ठलाई साथमा राखेर सुरु भएको थापाको सांकेतिक धर्ना आधा घण्टासम्म चलेको थियो ।

Leave A Reply

Your email address will not be published.