आचारसंहिता उल्लंघन गरेको आरोपमा रबि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा निवेदन दर्ता

0

काठमाण्डौं – न्यूज २४ का पत्रकार रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपाल, संचारग्राम काठमाडौंमा उजुरी परेको छ ।

लामिछानेविरुद्ध ‘पत्रकार आचारसंहिता नघ्न उल्लंघन’ गरेको भन्दै उचित कारवाहीको माग गर्दै पत्रकार खेम भण्डारीले बुधबार उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता नं. २७६ रहेको छ ।

लामिछानेले न्यूज २४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट २०७५ साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणसम्बन्धी समाचारहरुमा एकतर्फी रुपमा रिपोर्ट प्रस्तुत गरेर आफ्नो तेजोबध र बद्नाम गराउने दुर्नियत राखेको आरोप उजुरीमा लगाइएको छ ।

पत्रकारिताको आधारभूत तत्व ‘सन्तुलन’लाई लज्जास्पद तरिकाले उपेक्षा गर्दै मलाई यथोचित स्थान नै नदिई विपक्षीहरुले नेपाली पत्रकारिताकै अनुहारमा कालो पोत्ने काम गरेका छन्’ निवेदनको बुँदा नं. ३ मा उल्लेख छ ।

उजुरीमा विपक्षी बनाइएका लामिछानेले पत्रकार आचार संहिताको उल्लंघन गरेर पत्रकारिताकै अनुहारमा कालो पोत्ने गरेको जिकिर उजुरीकर्ता भण्डारीले गरेका छन् । आरोप पुष्टिका लागि भन्दै उनले यूट्यूब भिडियो, एसएमएसको स्क्रीन प्रिन्टलगायत ६ वटा प्रमाण समावेश गरेका छन् । निवेदनमा विपक्षीलाई माफीनामामा दस्तखत गराउन काउन्सिलसँग माग गरिएको छ । उजुरी दर्ता भएको पुष्टि काउन्सिलले गरेको छ ।

लामिछाने पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘दुरुत्साहन’ अभियोगको अनुसन्धानमा १० दिन चितवन प्रहरीको हिरासत बसाईपछि चितवन अदालतको आदेशमा ५ लाख रुपैयाँ धरौटी बुझाई सोमबार मात्र रिहा भएका थिए ।

Leave A Reply

Your email address will not be published.