बाबुराममाथि रावलको निरन्तर हमला, भने – बाबुराम विखण्डनकारी नै हुन्

0

काठमाण्डौं – सत्तारुढ नेकपाका प्रभावशाली नेता भीम रावलले पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि निरन्तर रुपमा आक्रमक अभिव्यक्तिमार्फत हमला गर्न छाडेका छैनन् ।

टीकापुरको घटनाबारे भदौ ७ गते भट्टराईले दिएको अभिव्यक्तिलाई लिएर नेता रावलले भट्टराई विखण्डनकारी भएको कडा टिप्पणी गरेका छन् । रावलले टीकापुर घटनाको पुनरावृत्ति गराउने सोचमा भट्टराई लागिरहेको गम्भीर आरोप लगाएका छन् ।

बुधबार बिहान कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्ष भट्टराई माक्र्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउने खेलमा लागेको आरोप लगाए । भट्टराई संविधान निर्माणकालदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भनेर लागिरहेको मान्छे भएको भन्दै ती नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेलको जीवन बिताउन विवश भएको अभिव्यक्ति नेता रावलले दिए । भट्टराईको अभिव्यक्ति देशमा विखण्डन निम्त्याउने र अराजकता फैलाउने किसिमको भएको जिकिर उनको छ ।

समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले टीकापुर घटनाको स्मरणमा गत शनिबार टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तिका लागि थप आन्दोलन गर्न तयार रहन अपिल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.