हिरासतबाट रिहा भएका रवि प्रकारान्तरले ‘बन्धन’मै !

0

काठमाण्डौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने दस दिनको कानुनी प्रक्रियापछि अदालतको आदेशबाट रिहा भएका छन् । रविसहित तीनै जना रिहा भएपछि देश–विदेशमा रहेका रविका समर्थक–शुभचिन्तकहरू यतिबेला खुशी मनाइरहेका छन् । जिल्ला अदालत चितवनले रविलाई पाँच लाख, अर्का सञ्चारकर्मी युवराज कँडेललाई तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको सन्दर्भले एक हदसम्म समर्थकहरूलाई खुशी प्रदान गर्नु स्वभाविक पनि छ ।

तर, गहिरिएर बुझ्ने कोशिस गर्ने हो भने प्रहरी हिरासतबाट रिहा भए पनि रवि अझै ‘बन्धन’मै छन् ।

अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले गरेको निर्णयअनुसार रवि पाँच लाख नगद धरौटी जम्मा गरी रिहा भएका छन् । उनलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ बमोजिम धरौटी माग गरिएको छ भने फैसलामा ‘तत्काल प्राप्त प्रमाणका आधारमा आदेश गरिएको’ उल्लेख छ । यसको अर्थ पछि साक्षी र बकपत्रका आधारमा कानूनबमोजिम फैसला हुन बाँकी नै छ ।

महत्वपूर्ण यो पनि छ कि आदेशको पूरक खण्डमा रविले सञ्चालन गर्दै आएको २४ टेलिभिजनको ‘जनतासँग सिधा कुरा कार्यक्रम’ मुद्दासँग सम्बन्धित भएकाले मुद्दाको टुङ्गो नलागेसम्म प्रस्तुत मुद्दाका विषय वस्तुलाई समावेश गरेर कुनै कार्यक्रम गर्न रोक लगाइएको छ ।

आदेशमा भनिएको छ, ‘अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका पक्ष, सम्बन्धित साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरू, प्रमाणका रूपमा वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाका बारेमा कुनै पनि विषयवस्तु सङ्कलन गरी मुद्दाको विश्वसनीयतामा असर पु¥याउने उद्देश्यले अदालतभन्दा बाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्ने, टेलिभिजन कार्यक्रम प्रसारण गर्ने, लाइभ, ट्विटर, युट्युब, सामाजिक सञ्जाल एवं अन्य सार्वजनिक सञ्चारमाध्यममा विचार वा प्रतिक्रिया स्वदेश वा विदेशमा व्यक्त गर्न पाइने छैन ।’

त्यसैगरी औषधोपचारका लागि विदेश जानु परेमा अदालतको लिखित रूपमा पूर्वअनुमति लिएर मात्रै जान पाइने छ ।

मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो । मुद्दा प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

यसरी, तत्कालका निम्ति हिरासत मुक्त भए पनि पूर्ण रूपले सफाई पाइसकेको अवस्था होइन । समयक्रममा यस मामलामा उतारचढाव आउन सक्ने सम्भावना प्रवल नै छ । अर्थात्, रवि हिरासतमुक्त त जररु भए, प्रकारान्तरले अझै कानुनी ‘बन्धन’मा भने बाँधिएकै छन् ।

Leave A Reply

Your email address will not be published.