अमेजनको आगो विवादः फ्रेन्च प्रथम महिलामाथि प्रहार

0

पेरिस \ बीबीसी – अमेजन क्षेत्रको जंगलमा लागेको आगोको विषयलाई लिएर शुरु भएको फ्रान्स र ब्राजिलको भनाभनको प्रसंग दुई देशका राष्ट्रपतिका पत्नीलाई तुलना गरेर छेडखानी गर्ने तहसम्म पुगेको बीबीसीले जनाएको छ । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका राष्ट्रपतिकी पत्नीको बारेमा गरेको टिप्पणीलाई लिएर फ्रेन्च राष्ट्रपतिले पत्रकार सम्मेलनमार्फत् नै त्यसको निन्दा गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको भनाइलाई असभ्य भन्दै निन्दा गरेका हुन् । ब्राजिलियन राष्ट्रपतिका एक समर्थकले म्याक्रोनकी पत्नी ६६ वर्षिया ब्रिगिटमाथि फेसबुक पोस्टमा ठट्टा गरेका थिए । सो पोस्टमा राखिएको फोटोमा फ्रेन्च प्रथम महिला र ब्राजिलकी राष्ट्रपति पत्नी ३७ वर्षीया मिचेल बोल्सोनारोको रुपको बारेमा चर्चा गरिएको छ ।

“तपाईंले अब बुझ्न सक्नुहुन्छ किन म्याक्रोनले बोल्सोनारोलाई नराम्रो व्यवहार गरिरहेका छन् ?,” त्यसको कमेन्टमा भनिएको छ । सो कमेन्टमा पोर्चुगिज भाषामा बोल्सोनारोले भनेका छन्,“अपमानित नगर, हाहा ।” बोल्सोनारोको भनाइप्रति म्याक्रोनले भनेका छन्,“ असाधारण असभ्य र दुःखद ।” “उनले मेरी पत्नीको बारेमा असम्मानजनक कुरा गरेका छन् । मेरो ब्राजिलियन जनताप्रति ठूलो आदर छ । र, आशा गर्न सक्छु उनीहरुले चाँडै चाहे जस्तो राष्ट्रपति पाउने छन्,”म्याक्रोनले सोमबार जी ७ बैठकका क्रममा आयोजित पत्रकार सम्मेलनमा भने ।

अमेजनमा फैलिएको आगोको विषयबाट शुरु भएको विवाद अहिले दुई राष्ट्रपतिका पत्नीसँगको तुलनामा पुगेर झन् चर्किन पुगेको छ । म्याक्रोनले अमेजन क्षेत्रमा लागेको आगोलाई अन्तर्राष्ट्रिय संकट भनेका थिए । बोल्सोनारोले भने म्याक्रोनलाई कोलोनियल मानसिकताबाट म्याक्रोनले अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

ब्राजीलका दक्षिणपन्थी राष्ट्रपतिको महिला, काला जाति र अल्पसंख्यकहरुविरुद्ध ज्यादती गर्ने खालका अभिव्यक्ति पछिल्लो समयमा सुनिँदै आएको छ । सेप्टेम्बर २०१४ मा कंग्रेस वुमन मारिया डो रोजारियोलाई संसदको एउटा बहसको क्रममा उनले भनेका थिए,“म तिमीलाई बलात्कार गर्दिनँ किनकि तिमी यसका लागि योग्य छैनौं ।”


बोल्सोनारोले आफ्नै छोरीको बारेमा पनि २०१७ मा एउटा सार्वजनिक कार्यक्रममा त्यस्तै हावादारी कुरा गरेका थिए । उनको भनाइ थियो,“मेरा पाँच जना केटाकेटी छन् । चार छोरा छन्, पाँचौँ पटक म अलि कमजोर थिएँ । त्यही भएर छोरी जन्मिइन् ।”

Leave A Reply

Your email address will not be published.