स्वायत्तता खोसिएको जम्मू – कश्मीरमा झडप, सुरक्षाकर्मीको मृत्यु

0

एजेन्सी – भारत प्रशासित जम्मू–कश्मीरमा एक प्रहरी अधिकारी मारिएको स्थानीय प्रहरीले जनाएको छ । बन्दुकधारीसँगको झडपको क्रममा आफ्ना एक अधिकारीको ज्यान गएको कश्मीर प्रहरीले जनाएको हो । घटनामा एक बन्दुकधारीको पनि ज्यान गएको जनाइएको छ ।

भारत सरकारले संविधानमा रहेको धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेपछि सो क्षेत्रमा सुरक्षा अधिकारीको ज्यान गएको पुष्टि गरिएको यो पहिलो घटना हो ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले भनेको छ कि सुरक्षाकर्मीहरुले झडपपछि हतियार तथा बन्दोबस्तीका सामान बरामद गरेका छन् ।

सरकारले जम्मू–कश्मीरको स्वायत्तता खोसेपछि सो क्षेत्रमा प्रदर्शन हुँदै आएका छन्, केही प्रदर्शनको क्रममा झडपसहितका हिंसात्मक गतिविधि भएका छन् ।

तर सो क्षेत्रमा भएका प्रदर्शन तथा अरु गतिविधिका समाचारहरु सीमित मात्रै बाहिर आएका छन् । अझै पनि जम्मू – कश्मीर क्षेत्रमा मोबाइल सेवा बन्द छ भने इन्टरनेट सेवा ठप्प पारिएको छ ।

भारत सरकारले स्वायत्तता खोस्नुअघिदेखि नै सो क्षेत्रमा सञ्चार सेवा बन्द गरेको हो र अझैसम्म सुचारु गरेको छैन । यसले गर्दा सर्वसाधारणहरुले आफन्तसँग कुराकानी गर्न पाएका छैनन् ।

यस्तै सञ्चार तथा सूचना सेवाबाट उनीहरु वञ्चित भएका छन् । सो क्षेत्रबाट समाचार संकलन गर्न पनि समस्या हुँदै आएको छ । हालका दिनमा केही ल्याण्डलाइन फोनहरुले भने काम गर्न थालेका छन् ।

सरकारी अधिकारीले लगातार दाबी गर्दै आएका छन् कि अगस्ट ५ को निर्णय यता जम्मू–कश्मीर क्षेत्रमा शान्ति कायम छ । तर अवस्था त्यस्तो नरहेको बताइन्छ ।

सो क्षेत्रमा अझै पनि सुरक्षा तैनाथी उच्च छ । यस्तै सरकारले स्थानीय राजनीतिज्ञ, अधिकारकर्मी, व्यवसायिक नेतासहित सयौँ व्यक्तिलाई बन्दी बनाएको छ ।

Leave A Reply

Your email address will not be published.