प्रकाश दाहालको नाममा विदेशको कुनै बैंकमा खाता वा पैसा रहेको पुष्टि गर्न चुनौति

0

काठमाण्डौं – दिवंगत प्रकाश दाहाल (प्रचण्ड पुत्र) को नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा पूर्णरुपमा कपोलकल्पित र कुप्रचार मात्रै रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले भत्सर्ना गरेको छ ।

‘जनक्रान्ति’ का उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध रुपमा प्रहार भइरहेको र यसकै लागि पछिल्लो समय दुश्प्रयासका रुपमा प्रचण्डको विदेश भ्रमणलाई तथ्यहीन र भ्रामक कुप्रचार मार्फत बदनाम गर्न खोजिएको प्रचण्डको निजी सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालै प्रचण्डले दुबईको भ्रमण गरेका थिए । सो भ्रमण गर्नुको उद्देश्य त्यहाँको बैंकमा प्रकाश दाहालको नाममा रहेको २१ अर्ब रुपैयाँ व्यवस्थापन गर्नु रहेको भन्ने कुरा कुप्रचार मात्रै रहेको प्रचण्डको सचिवालयले बताएको छ । यस्ता प्रचारहरु जनतामा भ्रम फैलाउने प्रतिकान्तिकारीहरुको षडयन्त्र रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशका नामा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौँ ।’


प्रचण्डका प्रमुख स्वकीय सचिव तथा निजी सचिवालयका अध्यक्ष जोखबहादुर महरा ‘प्रताप’द्वारा जारी विज्ञप्तिमा भ्रामक प्रचार गर्नेहरुलाई आवश्यक कारवाही गर्न पनि माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.