शंकाको घेरामा ओलीको सिंगापुर र दाहालको दुबई यात्रा

0

काठमाण्डौं – राजनीतिक नेतृत्वले विश्वसनीयता गुमाएको गुनासो सतहमा आइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का दुई अध्यक्ष केपी शर्मा ओलीको ९ दिने सिंगापुरको ‘स्वास्थ्य परिक्षण’ उनको त्यहाँको बसाई र पुष्प कमल दाहाल ‘प्रचण्ड’को स – परिवार दुबई भ्रमण सामाजिक सञ्जाल र राजनीतिक वृतमा बहसका विषय बनेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरेको भनिएको सिंगापुरस्थित नेशनल युनिभर्सल अस्पताल, उनका निजी चिकित्सक र सचिवालयबाट उनको स्वास्थ्य रिपोर्टबारे आधिकारिक जानकारी सार्वजनिक नगर्नुले झन शंका बढाएको हो ।

उता सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा रहेको बताउने नेकपाका अर्का दाहालको स – परिवारको दुबई सम्मको यात्रा, एकदिनको बसाइमा कम्तीमा पनि ५० हजार तिर्नु पर्ने मंहगो होटलको खर्च कसले तिर्‍यो र उनीसँग कुन व्यापारिक व्यक्ति थिए थिए या थिएनन् भन्नेबारे बहस भइरहको छ ।

दाहालले दुबई उड्नुअघि पत्नी सीताले अति रुचि देखाएकाले त्यहाँ घुमाउन लग्न थालेको बताएका थिए । र, त्यसै अनुसारको सूचना उनको सचिवालयले पनि दिएको थियो ।

तर राजनीतिक विश्लेष्क पुरञ्जन आचार्य बिरामी पत्नी सीतालाई प्रचण्डले आवरण मात्रै बनाएको, उनी राजनीति या आर्थिक मामिलालाई लिएर भ्रमणमा निस्केको र त्यसबारे विस्तारै खुल्दै जाने बताउँछन् ।

हालै एक टेलिभिजनसँग कुराकानीमा आचार्यले भनेका छन्, ‘दुबई फ्रि जोन हो । नेपालसँगको उसको राजनीतिक सम्बन्ध खासै छैन । त्यहाँ कि मानिस अवैध सम्पत्तिको व्यवस्थापन गर्न जान्छन् कि रहस्यमय राजनीतिकको बाटो खोज्न जान्छन् । बिरामी सीताले मलाई दुबई घुम्न मन लाग्यो भन्नुहुन्छ जस्तो लाग्दैन ।

त्यो आवरण मात्र हो । त्यसैले दाहालको यो भ्रमण पारिवारिक नभई नितान्त निजी र राजनीतिसँग सम्बन्धित छ ।’तर स्वदेश फर्किएको १० दिनपछि दाहालले आफू कुनै अपारदर्शी आर्थिक कारोबारका लागि दुबई नगएको र त्यस्ता आरोप लगाउनेहरुले सप्रमाण तथ्यलाई बाहिर ल्याउन वक्तव्यमार्फत चुनौती दिएका छन् ।

दाहाल यही साउन १४ गते पाँच दिने भ्रमणका लागि पत्नी सीता सहित दुई छोरी,दुई नातिनिहरुसहित दुबई भ्रमणमा निस्किएका थिए । यता अहिलेसम्म ओलीले भने आफ्नो सिंगापुर भ्रमणको आलोचनालाई लिएर स्पष्टीकरण या वक्तव्य जारी गरेका छैनन् ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोड्दै गएको र उनले फेरि मिर्गौला प्रत्यारोपणको संभावना खोज्नु परेको लगायतका अड्कलबाजीकाबीच उनी सिंगापुर गएका थिए।तर उनको भ्रमण टोलीमा स्वास्थ्य विशेषज्ञ भन्दा बढी अन्य नजदिकीहरु सामेल भएलगत्तै भ्रमणको असली उद्देश्य के हो भन्नेबारे प्रश्नहरु उठ्न थालेका हुन् ।

नेपालमा उपलब्ध नहुने कुन स्वास्थ्य परीक्षणका लागि ओली सिंगापुर हानिए ? फेरि अस्पताल नबसी निजी अपार्टमेन्टमा किन उनी र उनको टोली बस्यो? र उनका भ्रमण टोलीका सदस्यसँग विवादास्पद मेडिकल कलेजका व्यापारी बसीरुद्दिन अन्सारीले किन र कुन प्रयोजनका लागि भेट गरे ?

ओलीका सचिवालय सदस्यसँग बसीरुद्दिनले सिंगापुरमा सेल्फी लिनुले के अर्थ राख्छ? यी सबै प्रश्नले प्रधानमन्त्री ओलीलाई विवादमा तान्दै गएको छ।सिंगापुर भ्रमण टोलीको आतेजाते खर्च सबै सरकारले व्यहोरेको अवस्थामा उनको स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी नागरिकले पाउनुपर्ने माग भइहरेको छ ।

सरकार, राज्य प्रमुख, अति विशिष्ट व्यक्तिहरुको स्वास्थ्य जाँच भयो भने या उनीहरु अस्पताल भर्ना भने उनीहरुको स्वास्थ्यबारे हरेक दिन हेल्थ बुलेटिन जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यास र परम्परा छ। छिमेकी मुलुक भारतमै पनि त्यो अभ्यास अपनाएको देखिन्छ ।

तर ओलीको ९ दिन सम्म सिंगापुरमा कुन कुन अंगको ‘स्वास्थ्य परिक्षण भयो’ र त्यसको नतिजा कस्तो छ भन्नेबारे आधिकारिक र विश्वसनीय जानकारी सार्वजनिक नहुँदा उनको सिंगापुर भ्रमणको उद्देश्य अर्कै त थिएन भन्ने शंका उब्जिएको हो ।

ओली स्वदेश फर्किने दिन विहानपख उनका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले गरेको ट्वीटले पनि प्रश्नहरु जन्माएका छन् ।

प्रधानमन्त्री ओलीको हकमा सिंगापुरबाट नेपाल फर्कने दिन विहान पख मात्रै उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गरेका छन्,‘ प्रधानमन्त्री ज्यूको अब्बल स्वास्थ्य परिक्षणको लागि NUH लाई धन्यवाद । हार्दिक आतिथ्यताको लागि सिंगापुर सरकार र जनताप्रति आभार ।’

ओली उपचारका लागि गएका बेला रिमालले सिंगापुर सरकारलाई धन्यवाद दिनुको कारण के हो ? आतिथ्यका लागि या अन्य कुनै कारणले ? अनि त्यस्तो अभिव्यक्ति प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकारबाट किन आयो ? निजी भ्रमणमा गएका प्रधानमन्त्री ओलीको सिंगापुर सरकारसँग कस्तो समन्वय थियो र ? भेटघाट या प्राप्त सहयोगका प्रकृति के थिए ? भन्नेबारे रिमाल किन मौन छन् ?

स्वदेश फर्किएपछि त्रिभुवन विमानसथलमा जम्मा भएको पत्रकारको भिडमा आफू ठिक भएको मात्रै बताएर पन्छिएका ओलीले त्यसको केहीबेरमा आफ्नो स्वास्थ्यलाई लिएर गरेको ट्वीट पनि शंकास्पद नै छ ।

उनले भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी – दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु ।’

ओली सामान्य अवस्थामै थिए भने सरकारको ठूलो रकम खर्चिएर किन गए उनी सिंगापुर एउटा जम्बो टोली लिएर ? आखिर केही दिन अघि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको र सबै ठिकठाक भएको दाबी उनको उपचारमा संलग्न चिकित्सकले गरेकै थिए ।

यसले प्रधानमन्त्री ओली लगायत विशिष्टले ढुक्क हुने गरी स्वदेशमै स्वास्थ्य परीक्षण गर्ने अस्पताल उनले कहिले बनाउँछन् नेपालमा भन्ने प्रश्न पनि उब्जिएको छ। रिमालको ट्वीटको प्रतिक्रियामा चिकित्सक विशेष पौडेलले भनेका छन्, ‘अस्पताल बनाउनै पर्ने हो सर्वसाधारण देखि प्रधानमन्त्री सम्म को लागी , यो जुनिमा त्यस्तो सरकारी अस्पताल देख्न पाइयोस् !!’

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य नै थियो भने किन पटकपटक उनको स्वदेश फर्कने समयतालिका फेरियो ?

काठमाडौँबाट प्रेस विज्ञ एवम् संयोजकले उनी फर्कने समय तालिका सार्वजनिक गर्दै पटकपटक सारे, स्वास्थ्य रिपोर्ट आउन ढिलाइ भएको कारण देखाउँदै । राजनीतिक विश्लेषक आचार्यले भनेका छन्,‘प्रधानमन्त्री, सबैभन्दा ठूलो पार्टीको अध्यक्ष स्वास्थ्य परीक्षण गराउन विदेश जाँदा राजनीति पनि

सँगै जान्छ। उहाँको स्वास्थ्य परिक्षण मात्रै भएको छैन सिंगापुरमा । उहाँ केही आन्तरिक योजना, देश, पार्टी र पोलिटिक्सका ऐजण्डामा पनि छिर्नु भएको छ । उहाँले जानु भन्दा अघि भारतका रअका प्रमुखलाई पनि भेट्नु भएको छ ।’

Leave A Reply

Your email address will not be published.