प्रधानमन्त्री आज फर्किँदै, कस्तो छ स्वास्थ्य ?

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार गरेर आज सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्किने भएका छन् । उनी अघिल्लो शनिबार फलोअप उपचारका लागि सिंगापुर गएका हुन् ।

उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै औपचारिक जानकारी भने गराइएको छैन । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बाह्रखरीसँगको कुराकानीमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक अवस्थामा रहेको बताए ।

उनको भनाइ थियो,‘‘उहाँको नियमित परीक्षण हो । नियमित परीक्षण सकेर उहाँ सोमबार स्वदेश आउनुहुनेछ ।”प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेपछि उनी त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्री राति १ – २ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि सुझाव दिएको थियो ।

सिंगापुर जानुभन्दा एक साताअघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । रगत, दिसापिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सीलगायतका परीक्षण सो अवसरमा गरिएको बताइएको थियो ।

Leave A Reply

Your email address will not be published.