कश्मीरमा तनाव बढेपछि पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको बैठक

0

एजेन्सी – भारत प्रशासित जम्मू कश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि पछिल्ला दिनहरुमा तनाव बढेसँगै आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक गरेका छन् ।

भारतले कश्मीरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै अमरनाथ यात्रा स्थगित गरेको छ भने पर्यटकलाई कश्मीर छोड्न भनिएको छ । लगातार सुरक्षाकर्मीको संख्या बढाउने र अलर्ट जारी गर्नुले कश्मीरमा डरको माहोल बनिरहेका बेला पाकिस्तानमा सुरक्षा समितिको बैठक बस्नुलाई महत्वपूर्ण घटनाक्रम बताइएको छ ।

उता भारत प्रशासित कश्मीर र पाकिस्तान नियन्त्रित कश्मीरलाई अलग गर्ने नियन्ण रेखा (एलओसी) पार गरेर भारतीय सुरक्षाकर्मीले सैन्य कारबाही गरेपछि पाकिस्तानले त्यसको विरोधमा राष्ट्रसंघमा निवेदन दिएको छ ।

भारतले प्रतिबन्धित कलस्टर बमको प्रयोग गरेको र सर्वसाधारण नागरिकलाई निशाना बनाएको पाकिस्तानको आरोप छ । भारतले प्रतिबन्धित घातक हतियार प्रयोग गरेको भन्दै पाकिस्तान राष्ट्र संघ पुगेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भारतले सर्वसाधारण नागरिकलाई एलओसी पार गरेर निशाना बनाएको भन्दै आपत्ति जनाएका छन्। उनले भारत प्रशासित कश्मीरको अवस्था पनि नाजुक बनेको भनेका छन् । उनले भारत प्रशासित कश्मीरका जनताले आफ्नो भाग्यको आफै फैसला गर्नुपर्ने दिन आइसकेको भन्दै राष्ट्र संघले यसमा हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यस्थता गर्ने भनेको अब त्यो छिटै हुनुपर्नेसमेत बताएका छन् । इमरान खानले जम्मू कश्मीरमा भारतका कारण उत्पन्न तनावले क्षेत्रीय संकट बढाउनेसमेत चेतावनी दिएका छन् ।

यता भारतले भने पाकिस्तानी सीमा सुरक्षा बलका ५ जना जवानलाई मारेको भन्दै ती शव लैजान पाकिस्तानलाई आग्रह गरेको छ । तर, पाकिस्तानी सेनाले भने आफ्ना कुनै सैनिक नमारिएको भन्दै भारत प्रोपोगाण्डा मच्चाएको प्रतिक्रिया दिएको छ ।

Leave A Reply

Your email address will not be published.