अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते

0

एजेन्सी – अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको गभर्नर एबोटले बताएका छन् ।

एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा आम गोलीकाण्ड भएको हो । यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ ।

अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन् । उनी एक्लैले गोली चलाएको अनुमान छ । ती आरोपी व्यक्तिको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे (नेपाली समय अनुसार राति पौने १० बजे) घटना भएको प्रहरीले जनाएका छन् ।

आरोपितलाई पक्राउ गर्नका लागि प्रहरी अधिकारीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले बताएका छन् ।

एल पासो प्रहरी विभागले रगतको आवश्यकता परेकाले तत्काल रक्तदान गरिनु पर्ने अपिल गर्दै ट्वीट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.