तराईमा बाढी तथा डुबान, ६० घण्टादेखि बिजुली छैन

0

तराईमा बाढी तथा डुबान

काठमाडौँ – लगातारको वर्षाका कारण आएको बाढीका कारण विशेषगरी पूर्वी तथा मध्य तराईका जिल्लाका बस्ती डुबेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएको छ । रौतहट, सिरहा, सर्लाही, धनुषा, बारासहितका जिल्लाको डुबानले जनजीवन प्रभावित भएको छ ।

सर्लाही

बाढीका कारण सर्लाहीका अधिकांश नगर तथा गाउँपालिका डुबानमा परेका छन् । बागमती नदीमा पानीको सतह खतराको तह भन्दा माथि रहेको र लगातार पानी परिरहेकाले जनजीवन प्रभावित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताएका छन् । अधिकांश तटबन्द जोखिमको अवस्थामा रहेको उनले बताए ।

जिल्ला सदरमुकाम मलंगवा पूरै डुबेको छ । धनकौल, रामनगर, बसबरिया, बरहथवा, कौडेना, विष्णु, हरिपुरसहितका नगर तथा गाउँपालिका जलमग्न भएका छन् । मलंगवामा ६० घण्टादेखि विद्युत अवरुद्ध छ । त्यसले गर्दा प्रहरकिा सञ्चार सेटले काम गर्न छोडेको र उद्धारको काममा समस्या भएको प्रमुख जिल्ला अधिकारी राउतले बताएका छन् ।

सुरक्षा निकायका कार्यालयहरु आफै डुबानमा परेकाले उद्धारको काममा समस्या भएको उनले बताए । मलंगवामा आर्मीले मोटरबोट मार्फत डुबानमा परेकाहरुलाई उच्च क्षेत्रमा ल्याएको उनले जानकारी दिएका छन् ।

ठाउँ-ठाउँमा बाटो तथा पुल भत्किएकाले समस्या भइरहेको छ । उनले भने, ‘जिल्लाका अधिकांश क्षेत्र समुद्र जस्तो भएको छ । तर हालसम्म मानवीय क्षतिको खबर छैन ।’

रौतहट

रौतहट जिल्लाका दक्षिणी भेगका बस्तीहरु डुबानमा रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् । सदरमुकामसहितका क्षेत्र जलमग्न भएका छन् ।

दुर्गाभगवती, कटहरिया, गढिमाई, फतुवा विजयपुर, राजदेवी, राजपुर, देवाही बोनाहीसहितका गाउँ तथा नगरपालिकाका अधिकांश बस्ती डुबेका छन् ।

प्रहरी चौकी तथा भन्सार कार्यालय डुबानमा परेकाले सुरक्षाकर्मी नै छतमा बस्नु परेको प्रजिअ थापाले बताएका छन् । सम्भव भएका क्षेत्रमा डुंगा मार्फत उद्धारको काम भइरहेको उनले जानकारी दिए ।

सिरहा

सिरहामा कमला नदी आसपासका क्षेत्रमा बढी प्रभाव परेको छ । ठाउँ–ठाउँबाट कमला नदी फुटेर बस्तीमा पसेकाले डुबान भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् । सबैभन्दा बढी सदरमुकाम रहेको सिरहा नगरपालिका प्रभावित भएको छ ।

जिल्लामा डुबान भयावह अवस्थामा रहेको उनले बताए । सिरहा–६ बसभट्टिामा कमला नदीको भंगालोमा ९ जना फसेको उनले बताएका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए ।

जिल्लामा बिजुली तथा टेलिफोन सेवा अवरुद्ध हुँदा उद्धारमा थप समस्या भएको प्रजिअ अधिकारीले बताएका छन् । डुबान भए पनि हालसम्म हताहतीको खबर नआएको उनले बताए ।

धनुषा

लगातार पानी परेकाले जिल्लाका अधिकांश बस्ती डुबेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताएका छन् । कमला नदी विभिन्न ठाउँबाट फुटेर बस्तीमा पसेकाले समस्या भएको उनले बताएका छन् ।

शनिबार बिहान शहीदनगर नगरपालिका – २ मा कमला नदीको भंगालोमा फसेका पाँचजनालाई उद्धार गरिएको प्रजिअ कँडेलले बताएका छन् ।

यस्तै कमला नदीको अर्को भंगालोमा फसकेका फसेका चारजना मध्ये एकजना बेपत्ता भएको र बाँकी रहेका तीनजनालाई उद्धारको प्रयास भइरहेको उनले बताएका छन् । उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । यस्तै केन्द्रबाट हेलिकप्टर पठाउनका लागि पनि आग्रह गरिएको उनले बताए ।

बारा

बाढीका कारण बाराका अधिकांश क्षेत्र जलमग्न रहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन् । लगातार पानी परेकाले उद्धारको काममा कठिनाइ भएको उनले बताए ।

शुक्रबार पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको थियो । थप हताहती भने नभएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.