काठमाडौंका सम्पदा खतराको सूचीमा

0

काठमाडौं – काठमाडौं उपत्यकाका सात विश्व सम्पदालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो ।

यूनेस्कोको ४३ औँ सेसनका लागि तयार पारिएको एजेन्डामा काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको हो । यूनेस्कोको ४३ औँ सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्दैछ ।

यदि युनेस्कोकोे प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरूको पहिचान संकटमा पर्न सक्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

यूनेस्कोले यस अघि पनि सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । युनेस्कोले तीन वर्ष अघि पनि काठमडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो । काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज सूचिकृत छन् । ती सम्पदामाथि भने प्रश्न उठाइएको छैन ।

भूकम्पपछि सम्पदा संरक्षणमा नेपालले उल्लेख प्रगति गर्न सकेको छैन । हनुमानढोका दरवार क्षेत्रमा निर्मित मापदण्ड बिपरीतका भवन, पुनर्निर्माणको गति सुस्त ,पशुपतिनाथ क्षेत्रमा सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माण विवादित बन्दै आएको छ । अहिले विश्वका एक सय ६७ मुलुकका एक हजार ९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचिकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचीमा परेका छन् ।

सन् २०१९ का लागि नेपालका काठमाडौं उपत्यकासहित बंगलादेश, बुल्गेरिया, अल्वानीया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका छन् । यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रस्ताव जाँदैछ । दुई वटा सम्पदा भने खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गरिएको छ । भारतको जयपुर सीटीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव यस सेसनमा जाँदैछ ।

सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले युनेस्कोले काठमाडौ उपत्यकाका विश्वसम्पदालाई खतराको सूचीमा राख्न प्रस्ताब गरेको विषय आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै बाँस्कोटाले सो कुरा बताएका छन् । पर्यटन मन्त्रालयले खतराको सूचीबाट उम्कने प्रयास गर्ने बताउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.